Monday 28th July 2025

‘सिएनएन हिरो’ म्यागीको पहलमा सुर्खेतको वीरेन्द्रनगरमा प्रविधियु्क्त विद्यालय भवन निर्माण


तितोपाटी – ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवनिर्मित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरिन् । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय महिलाका लागि सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ धारापानीस्थित आफ्नै जग्गामा निर्माण गरिएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयका साथै कोपिला भ्याली बालगृह र महिला केन्द्र पनि सञ्चालन हुनेछन् । आफ्नै भवन नहुँदा हालसम्म विद्यालय भाडामा सञ्चालित थियो ।

तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त भवन रु १२ करोड लागतमा पूरा भएको हो । कोपिला भ्याली समाजकी संस्थापक ३२ वर्षीय म्यागी डोयनले ग्रामीण भेगका अनाथ र असहायको सेवाका लागि आफूले अमेरिका छाडेको बताइन् । कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका ४५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

पश्चिम नेपालमा गरेको समाजसेवाको कदरस्वरुप म्यागीलाई अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले ‘हिरो अफ दि इअर–२०१५’ को उपाधिसहित एक लाख १० हजार डलर पुरस्कारबाट सम्मान गरेको थियो । विद्यालयका अर्का संस्थापक टोपबहादुर मल्लले अत्याधुनिक प्रविधिको विद्यालय भवन निर्माणमा ब्लांकनाउ फाउन्डेसन र फार्मर नामक संस्थाले सहयोग गरेको जानकारी दिएका थिए।

विद्यालयमा जडित सौर्य ऊर्जाबाट दैनिक १५० किलोवाटको विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् उज्यालोका साथै खाना पकाउने, पानी सञ्चय तथा प्रशोधन गर्ने काममा समेत उपयोग गरिनेछ । सौर्य प्रणालीबाटै खाना पकाउने सोलार कुकर स्थापना गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...