Saturday 18th May 2024

‘न फेरियो जीवन, न पाइयो उपचार’ – पुर्व लडाकु


तितोपाटी – कालिकोटको शान्नित्रिवेणी गाउँपालिका ६ का कुलप्रसाद भट्टराई (कुसुम) यतिबेला अस्पतालमा छन्। बुधबार गृहमन्त्रालयमै विष शेवन गरेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो। यो खबर सुनेका उनका परिवारजन यतिबेला तनावमा छन्।

को हुन् कुलप्रसाद भट्टराई जो गृहमन्त्रालयमै पुगेर बिष पिए ? त्यस्तो के कारण पर्‍यो जसले उनलाई विष पिउन बाध्य बनायो ?

माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला २०५८ मा भूमिगत भएका थिए। उनलाई माओवादीले लडाकु दस्तामा भर्ती गरायो। पूर्व जनमुक्ति सेना कुलप्रसाद भट्टराईलाई पार्टीले ‘कुसुम’ नाम दियो। माओवादी सेनामा उनी यही नामले परिचित भए।

भूमिगत हुँदा १७ वर्षमात्र भएका कुसुम अहिले ३४ वर्षका भइसके। उनी ४०/४५ जना लडाकुको नेतृत्व गरेर प्लाटुन कमाण्डर पनि भए। सामान्य लेखपढ मात्र रहेका अर्घाखाँची, म्याग्दीको बेनी, बर्दियाको बेलासपुर, कैलालीको आमखैया, भजनी, जुम्ला खलंगाका भिडन्तहरूमा खटिएका थिए। द्वन्द्वको अन्तिममा कालिकोटको पिली आक्रमणमा उनी सहभागी भएका थिए।

शान्नित्रिवेणी गाउँपालिका ६ (साविक मेहेलमुडी गाविस ८) स्थायी घर भएका कुसमको शरीरका विभिन्न भागमा गोली र गोलीका छर्रा समेत रहेका छन्।

शान्नि सम्झौता भएपछि ८ वर्ष नवलपरासीको अरुणखोलामा रहेको ४ नम्बर डिभिजनमा समय बिताएका उनलाई अनमिनले अयोग्य घोषित गर्दै ब्यारेकबाट फर्काइएको थियो।
बहिर्गमनमा परेका लडाकुले स्थापना गरेको बहिगर्मित जनमुक्ति सेना नेपालमा उनी केन्द्रीय सदस्य पनि छन्। यो संगठनले बहिगर्मित जनसेनाको उपचारको लागि लामोसमयदेखि सरकारसँग माग राख्दै आएको छ। तर अहिलेसम्म सुनुवाई भएको छैन।

यही अभियानअन्तर्गत कुसुमले पनि आफ्नो उपचारको लागि पार्टी र सरकारसँग पटक पटक आग्रह गरेका थिए। तर, उनको आग्रह सुनिदिने कोही भएनन्।

अयोग्यको मुख्य कारण ‘कम उमेर’

अनमिनको प्रमाणिकरणमा अयोग्य हुनुको मुख्य कारण कम उमेर भएको कुसुमका भिनाजु तत्कालीन माओवादी केन्द्रका नेता नहकुल संज्याल बताउँछन्। ‘कुसुम अयोग्य हुनुको मुख्य कारण नै १८ वर्ष नपुगी जनमुक्ति सेनामा भर्ती भएकोले हो’, धेरै समय उनीसँगै बिताएका संज्यालले भने, ‘त्यतिबेला अनमिनले शान्ति सम्झौता भइसकेपछि भर्ती भएको र कम उमेरको व्यक्तिलाई अयोग्य बनाएको थियो।’

अनमिनको प्रमाणिकरणमा ‘अयोग्य’ भएर ब्यारेकबाट बाहिरिएपछि उनी गाउँ जान चाहेनन्। शरीरमा गोली र छर्राहरूको दुखाईको उपचार गराउन आफन्त र साथीहरूसँग लिएको करिब ७ लाख रुपैयाँ सकिइसक्यो।

‘ब्यारेकबाट बाहिर आएपछि कि सुर्खेत बस्यो कि काठमाडौं’, भिनाजु संज्यालले भने, ‘उपचारका लागि मागेको पैसा पनि खान बस्नमै सकियो। अयोग्य भनिएयता ऊ निकै फ्रस्टेशनमा थियो।’

उपचार गराउन काठमाडौं : परिवार

कुसुम यसपटक दसैं मान्न गाउँ गएका थिए। फर्किने बेला उनी सरकारसँग राहत मागेर उपचार गराउने भनेर फर्केका उनका दाई हंशराज भट्टराई बताउँछन्। ‘उपचार गराउँछु भनेर गएको हो’, उनका दाजुले भने।

एक वर्ष अघि रामेछापकी सरिता थापामगर (२३) सँग उनको विवाह भएको थियो। श्रीमान विष खाएर अस्पतालको शैयामा छन् भन्ने खबर पाएपछि उनी चिन्तामा छिन्। ‘बुहारी कसैसँग पनि बोल्न मानेकी छैनन्। चिन्तामा छिन्’, कुसुमका दाई हंशराजले भने, ‘भाइ काठमाडौंमा अस्पतालमा बेहोस्। बुहारी बेडमै बेहोस् जस्तै छन्।’

वृद्ध भइसकेका बाबुआमालाई भने यसबारे जानकारी दिइएको छैन। आर्थिक रुपमा कमजोर यो परिवार उनलाई काठमाडौं भेट्न जान पनि ऋण खोज्नुपर्ने अवस्थामा छ। हंशराजले भने, ‘म सामान्य खेती किसान गर्ने मान्छे हुँ। जनयुद्ध लड्दा गरिबका दिन फेरिन्छन् भन्थे तर हाम्रो अवस्था उस्तै छ।’

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...