Friday 15th May 2026

कुवेतको सिप नेपालमा सदुपयोग गर्दै


तीतोपाटी- परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन ।

खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती शुरु गरे । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत । उनलाई स्वदेशमै आम्दानी र सन्तुष्टि मिल्यो । १६ हजार रुपैयाँबाट च्याउखेती शुरु गरेका सुनार अहिले व्यावसायिक च्याउ खेतीमा रमाएका छन् । उनको लगानी अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

उनले एक वर्षसम्म नेपालगन्जमा फलफूल र तरकारीको ठेला लगाए । पछि जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम अन्तर्गत रु ६० हजारबाट तरकारी खेती शुरु गरेका सुनारले २०६९ सालमा टहरा बनाएर रु १६ हजारको लगानीमा च्याउ खेती शुरु गरे ।

शुरुमा १२० पोकाबाट च्याउखेती शुरु गरेका उनले उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन् । दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पनि पाए । “लक्ष्मी बैंकबाट रु ३५ लाख ऋण लिएँ”, उनी भन्छन्, “यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।”

बन्धन र सन्तुष्टिमा फरक

विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएकाे उनले सुनाए, “अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ ।”

टहराबाट च्याउखेती शुरु गरेका सुनारले दुई वर्षअघि आधुनिक पक्की संरचना बनाएका छन् । अहिले च्याउ लगाउनका लागि आठवटा ठूला कोठा निर्माण गरिएको छ । पराल राख्ने, पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ तयार गरिएको छ ।

पाँच जनालार्इ नियमित राेजगारी

उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गरेका छन् । च्याउ फर्ममा पाँच जनाले नियमित रोजगारी पाएका छन्  भने च्याउको उपयुक्त समयमा २० जनाभन्दा धेरैले काम पाउँछन् ।

आवश्यकताअनुसार दैनिक कामदार लगाउने गरिएको छ । फर्ममा कन्य च्याउको उत्पादन गरिँदै आएको भए पनि यस वर्षदेखि गोब्रे च्याउको पनि उत्पादन शुरु गर्ने सुनारले बताए ।

दैनिक पाँच क्विन्टलसम्म

च्याउको सिजन शुरु भइसकेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेच्ने गरेका सुनारले यसवर्ष बढाउने लक्ष्य लिएका छन् ।

उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । तालीमबिना नै च्याउ खेती शुरु गरेका सुनार अचेल आफैँ तालीम दिन्छन् । मिहिनेत गरे सफल भइन्छ भन्ने सोचाइ सुनारको छ । खेती गर्दै जाँदा उनलार्इ अनुभव भयो ।

आत्मविश्वास र मिहिनेत

आत्मविश्वास बढ्यो, यसैमा लागिपरे  र कर्म गरे अवश्य फल पाइन्छ । भन्छन्, “हिजो १०/१५ हजारका लागि अरूसँग हात जोड्नुपथ्र्याे र आज दुई/चार लाख दिने मान्छे छन् ।” व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । तर उनी च्याउखेतीमै लागिपरे र सफल पनि भए ।

“विसं २०७३ सालमा खोर नै सखाप थियो । रु १७ लाखको लगानी खेर गयो तर हिम्मत हारिनँ,” उनले भने, “साथीभाइको साथले फेरि शुरु गरें ।” समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनकाे भनाइ छ ।

सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाउनुभएको छ । पुरस्कार र सम्मानले मैले पनि केही गरिरहेको छु भन्ने लाग्ने उनकाे अनुभव छ । “आफ्नो काममा खुसी र सन्तुष्ट छु”, उनी भन्छन्, “अझै धेरै गर्न बाँकी छ ।”

साभार- न्युज24 नेपाल


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...