Wednesday 14th May 2025

व्यास जन्मस्थल दमाैलीलार्इ वेद पुजन मुख्यस्थल घोषणा गर्न ८८ हजार सन्तको महामिलन गराइंदै


तितोपाटी – चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिकमा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म (एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाका अनुसार विश्व ओमकार परिवारका ८८ हजार साधुसन्त एवं सर्वसाधारणको महामिलन गराउँदै व्यास क्षेत्रलाई विश्वकै वेद पूजनको मुख्यस्थल घोषणा गरिनेछ ।

‘ओमकार परिवारलाई एउटै सूत्रमा बाँधी मानवीय भेदभाव, हत्या हिंसा र कुविचार परित्याग गरी एकाकार बन्दै वेदव्यासका परोपकारी भावलाई उजागर गर्नु नै महामिलनको मूल उद्देश्य हो,’ उनले भने । एक महिनाभर विशेष प्रवचनका साथै वेदसहित विभिन्न पुराण, रुद्री, चण्डी आदिको पूजा एवं पाठ पारायणका साथै वैदिक सनातन विधिअनुसार शालिग्राम तथा पञ्चायन देवताको षोडशोपचार विधिले पूजा गरिने आयोजकले जनाएको छ ।

प्रतिष्ठानको टोलीले पोखरासहित देशका प्रमुख शहर एवं धार्मिक तीर्थस्थलमा पुगी महामिलनको प्रचारप्रसारसहित साधुसन्तलाई आमन्त्रण गरिसकेको छ । साधुसन्तलाई एकपटक व्यासभूिम आमन्त्रण गरी यहाँको धार्मिक एवं सांस्कृतिक महत्वबारे प्रचारप्रसारसमेत गर्ने प्रतिष्ठानको लक्ष्य छ ।
स्कन्ध पुराणको हिमवत खण्डको गण्डकी माहत्म्यमा उल्लेख छ,
‘पारकोटेऽन्यतीर्थञ्च वर्तते पुण्यदायकम् ।
माद्रिका शुक्लगण्डक्योः संगमे शंकराभिदम् ।।
जज्ञे मत्स्योदरीपुत्रस्तत्रद्वीपे पराशरात् ।
पुराणसंहिताकर्ता वेदशास्त्र प्रवर्तकः ।।’

यसरी शुक्ला माहेन्द्री गंगाको संगममा शंकरजीको प्यारो तीर्थ रहेको र मत्स्योदरीका पुत्रका रूपमा उक्त स्थानमा वेदशास्त्रका प्रवर्तक वेदव्यास जन्मनुभएको उल्लेख भएकाले यस स्थलको ठूलो धार्मिक महत्व छ । पुराण तथा अन्य धार्मिक ग्रन्थहरूका अनुसार वेदव्यास २८आँै व्यासावतार श्रीकृष्ण द्वैपायनका रूपमा दमौलीमा अवतरित हुनुभएको हो । सेती र मादी नदीको संगमस्थल बयरघारी वनयुक्त द्वीपमा महर्षी पराशरको अंश र सत्यवतीको कोखबाट श्रीकृष्ण द्वैपायनको जन्म भएको र जन्मनासाथ आमाको अनुमतिले चीरकालसम्म तपस्या गरी तपस्वीका रूपमा रहेको जनविश्वास छ ।

यस क्षेत्रमा पराशर आश्रम, सत्यवतीको प्रशव वेदना झल्काउने शिला, सत्यवतीकी आमा मत्स्यगन्धा झल्काउने शिला, राजा उपरीचरले पालेको बाज पक्षी झल्काउने शिला, कहिल्यै नसुक्ने सत्यवती कुण्ड, व्यास गुफा, मत्स्योदरी कुण्डजस्ता धेरै ऐतिहासिकस्थल प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । वेद व्यासको जन्मस्थलको महिमा र गरिमालाई देश विदेश पुऱ्याउन पनि महामिलन अत्यन्त उपयोगी बन्ने विश्वास लिइएको प्रतिष्ठानका सदस्य हिमलाल पौडेलले बताए । यस क्षेत्रमा २०७३ कात्तिक १ गतेदेखि ०७४ चैतसम्म १८ महिने अखण्ड हरिनाम संकीर्तन गरिसकिएको छ ।

यहाँको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्न व्यास क्षेत्र विकास कोषको सक्रियतामा करिब रु. २७ करोडको लागतमा १०८ फिटको तामाको मूर्तिसहित विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिसकिएको छ । यस क्षेत्रको लगभग एक सय रोपनी क्षेत्रफल समेट्ने गरी पुस्तकालय, वाचनालय, प्रवचन गृह, गुरुकूल आश्रम, धर्मशाला, व्यापारिकस्थलका साथै २७ अवतारका व्यास, श्री गणेश, सत्यवती, पराशर र दाशराज माझीको मूर्ति निर्माण गरिने भएको छ ।

पर्यटकीय नगरी पोखराबाट जम्मा ५० किलोमिटर दूरीमा रहेको यस क्षेत्रमा प्रस्तावित मूर्तिसहितका संरचना निर्माण भएसँगै पोखरा आउने पर्यटकलाई न्यूनतम एक दिन यस ठाउँमा पुर्याउन सकिने भएको छ । व्यास क्षेत्रसहित तनहुँका देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेखाम कोटभैरवी, आँधीमूल, तीनखोलेदेवी, तनहुँकालिका, अकलादेवीलगायत मठमन्दिर पनि यहाँका थप आकर्षण हुन् ।


सम्बन्धित शीर्षकहरु

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

प्रतिकृयाहरू
...