Thursday 5th March 2026

हिमाली अाँधीका कारण गुर्जा हिमाल अारोहणमा गएका ९ जनाको मृत्यु


तितोपाटी – हिमाली अाँधीका कारण धाैलागिरी हिमश्रृंखला स्थित गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको हिमआँधीमा परेर मृत्यु भएको छ  । मृत्यु भएकामा ४ नेपाली र ५ कोरियाली छन्  ।  आठ वर्षपछि गुर्जा आरोहणमा गएको पहिलो टोली दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु भएकामा कोरियाली पर्यटक लिएर गएका संखुवासभाको हटियाका छिरिङ भोटे, भोटेखोलाका लाक्पा सोङबु भोटे, फर्बु भोटे र म्याग्दी, गुर्जाका नेत्रबहादुर छन्त्याल छन् । दक्षिण कोरियाका जोहोन ली, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङको पनि मृत्यु भएको छ ।

गुर्जा आरोहणमै गएका हङ जिन च्योय, उनका गाइड लाक्पा शेर्पा र राजन भोटेको नेतृत्वमा रहेका ७ फ्रान्सेली, २ स्विस तथा एक क्यानेडियन पर्यटकको टोली भने सुरक्षित छ । टोलीले गुर्जाछेउकै गुस्तुङ साउथ हिमाल आरोहण गर्दै छ ।

गुर्जामा रहेका गाइड लाक्पा शेर्पाले दुई पाहुनामध्ये ७७ वर्षीय हङ जिन च्योय बेसक्याम्पदेखि अन्दाजी तीन घण्टा तलै बिरामी परेपछि बिहीबार फिर्ता भएको जनाए । ‘सोही राती पहिलो आधार शिविरमा दुर्घटना भएछ,’ उनले भने, ‘शुक्रबार बिहान सम्पर्क नभएपछि स्थानीयसहितको टोली खोज्न जाँदा दुर्घटना भएको पत्ता लागेको हो ।’ घटनास्थल करिब ४ हजार ५ सय मिटर उचाइमा छ । डिलमा टेन्ट टाँगेर बसेका बेला आएको आँधीले उनीहरूलाई उडाएर भीरतर्फ लगेको थियो । हिमपहिरोका कारण आँधी आएको अनुमान छ ।

कोरियाली टोली असोज १५ गते बेनीको होटल डल्फिनमा बास बसी २१ गते गुर्जा पुगेर २२ गते बेसक्याम्पतर्फ लागेको थियो । २४ गते टोली बेसक्याम्प पुगेको थियो । २६ गते बिहान बीचबाटै फर्केका लाक्पासँग बेसक्याम्पमा रहेको टोलीको सम्पर्क नभएपछि वडाध्यक्ष झकबहादुर छन्त्यालसहित गुर्जावासी खोजीका लागि गएको थियो ।

उनीहरू बेसक्याम्प पुग्दा दुर्घटना पुष्टि भएको थियो । ‘शुक्रबार बिहान उज्यालो नहुँदै दुई दिनको बाटो एकै दिन हिँडेर बेसक्याम्प छेउ पुग्यौं । त्यहाँ टेन्ट र शवहरू छरिएका थिए । हामीले राति नै गाउँ झरेर उद्धारका लागि हेलिकप्टर बोलाएका हौं,’ छन्त्यालले भने, ‘बेसक्याम्पमा हिउँ परेको थिएन, पहिरो पनि थिएन । सम्भवत: हिमआँधीले उडाएको हुन सक्छ ।’

सबैभन्दा नजिकको ताकम प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ परिचालन भएको डीएसपी वीरबहादुर बुढाले जानकारी दिए । दुर्घटनाको पुष्टि भएपछि शनिबार बिहान सिम्रिक एयरका हेलिकप्टर दुईपटक घटनास्थल पुगे पनि शव ल्याउन सकेन । शनिबार एक्स्पर्ट रेस्क्यु टिम लगिएको ट्रेकिङ क्याम्प नेपालले जनाएको छ । हेलिकप्टरबाट घटनास्थल पुगेर फर्केका प्रत्यक्षदर्शी समप्रसाद छन्त्यालका अनुसार आँधीले क्याम्प राखेको स्थानबाट मान्छेहरूलाई सय मिटरसम्म पर पुर्‍याएको छ । प्राय: सबैको शव भीरमा अल्झेको र खोंचमा खसेको छ ।

धौलागिरि हिमशृंखलाको पश्चिमछेउमा चुरेन, पुथा, गुस्तुङपश्चिम, म्याग्दीमाथा र गुर्जा हिमटाकुरा छन् । तीमध्ये गुर्जा हिमाल सबैभन्दा अग्लो ७ हजार १ सय ९३ मिटर छ । गुर्जा र छेउको गुस्तुङ हिमाल चढ्न तीन समूहमा पर्यटक आएपछि ६० जना गुर्जावासीले भरियाको काम पाएका थिए ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...