Tuesday 23rd September 2025

यति एयरलाइन्सको उडानकै क्रममा यात्रुको मृत्यु, मृतकका परवारद्वारा क्षतिपुर्ति दावी


तितोपाटी – भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ। यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ। असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० वर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको पारिवारले बताएको छ।

यती एयरको एटीआर ७२–५०० नामक ७२ सिट क्षमताको जहाजमा यात्रा गरिरहेकै रायमाझी भैरहवाबाट जहाज उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ। विमान चढेको १० मिनेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैहरवा नै फकाएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनुपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए। पुष्पा, उनकी फुपू माया खड्का र ७८ वर्षीय हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए।

यती एयरलाइन्सले लुकाउन चाहेको यो घटना मृतकका परिवारले १३ दिनपछि सार्वजनिक गरेका छन्। मृतक पुष्पाका आफन्त यतीको कमजोरीका कारण जहाजभित्रै पुष्पाको मृत्यु भएको दाबीसहित बुधबार यती एयरलाइन्समा डेलिगेसन गएका छन्। पुष्पाको परिवारले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने, बिमा रकम उपलब्ध गराउनुपर्ने तथा यस्ता लापरबाही भविष्यमा गर्न नहुनेसहितको माग गरेको बाबुराम रायमाझीले बताए।

भैरहवा–काठमाडौंको करिब ३५ मिनेटको उडान भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गर्नुभन्दा छिटो भैरहवा पुग्न हुने भन्दै पुष्पाका आफन्तले यतीको लापरबाही भएको दाबी गरेका छन्। ‘पुष्पालाई जहाज उड्नेबित्तिकै अहसज भएका रहेछ, त्यो अवस्थामा एसी नखोलिएको, अक्सिजन नदिइएको र छिटो उपचार गराउन सक्ने बाटो नखोजिएका कारण मृत्युवरण गर्नुपर्‍यो’, पुष्पाका काका तथा मेडिकल पर्सन विष्णु रायमाझीले भने।

पुष्पालाई त्रिभुवन विमानस्थलबाट सीधै एयरलान्इसले नै काठमाडौं मेडिकल कलेज पुर्‍याएको थियो। हस्पिटल लगेपछि पनि आफन्त कसैलाई भेट्न नदिइएको र भोलिपल्ट मात्रै मृत्यु भएको भन्ने बहाना बनाएको रायमाझीको दाबी छ। जहाज चढेको १० मिनेटमै पुष्पाले गाह्रो भयो भनेको मृतक पुष्पासँगै यात्रा गरेकी फुपू माया खड्काले बताइन्। ‘त्यतिबेला बहिनीले गर्मी भयो, एसी खोल्नुपर्‍यो भन्दै थिइन्, हामीलाई पनि उकुसमुकुस भएको थियो। एकैछिनमा अचेत भएर ढलेकी बहिनी तुरुन्तै बितिछन्’, उनले भनिन्।

यती एयरलान्इसका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले भने हस्पिटल लगेर उपचार गरिरहेको अवस्थामा घटनाको भोलिपल्ट मात्रै पुष्पाको मृत्यु भएको दाबी गरे। ‘जहाज भैरहवाबाट उडेको १५ मिनेटपछि पुष्पालाई असहज भएको थियो। एयरलाइन्सका कर्मचारीले अक्सिजन दिएको र काठमाडौं टावरलाई खबर गरेर आकस्मिक अवतरणको अनुमति मागिसकेको थियो’, उनले भने। जहाजलाई भैरहवा लैजानुभन्दा काठमाडौंमै अवतरण गर्दा पाँच मिनेट छिटो हुने र काठमाडौंमै राम्रो उपचार हुने भएकाले क्याप्टेनले त्रिभुवन विमानस्थलमै अवतरणको निर्णय गरेको उनले बताए।

जहाज अवतरण गर्दा पार्किङमै एम्बुलेन्स र मेडिकल टिम पुगिसकेको उनको दाबी छ। जहाजमा चढेकी पुष्पा पहिलेदेखि नै बिरामी रहेको र हृदयाघातको समस्याले गर्दा प्रयास गर्दागर्दा पनि बचाउन नसकिएको उनको भनाइ छ। जहाजमा चढेका यात्रु बिरामी हुनु र अचेत हुनुमा विमान कम्पनीको कुनै दोष नहुने पनि यतीको भनाइ छ।

यस अघि पनि फाप्लुबाट आएको यतीकै जहाजमा एक जनाको अचेत भएकै कारण मृत्यु भएको थियो। यतीकै क्याप्टेन डीबी शाहको पनि सन् २०१७ को जनावरीमा काठमाडौंबाट कतार जाँदा जहाजभित्रै मृत्यु भएको थियो। जहाजभित्र यात्रुको मृत्यु हुँदा बिमाले कुनै रकम बेहोर्र्ने व्यवस्था छैन। तर, पुष्पाका परिवारले भने उचित बिमा रकम मागेका छन्। ‘व्यवस्था नै नभएको बिमा रकम कसरी दिलाउने ? ’ राईले भने। यस्ता घटनामा कुनै क्षतिपूर्ति तथा बिमाको व्यवस्था नभएकाले जहाज कम्पनीले कुनै रकम दिन नसक्ने यतीको भनाइ छ।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...