Friday 13th June 2025

प्युठानको एक माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा अनाैठो बिरामी, ३ वर्षदेखि समस्या


तितोपाटी – प्युठानको गौमुखी गाउँपालिका ७, नारीकोटस्थित अमृत जीवन माविमा विद्यार्थी बिरामी हुने समस्याले पठनपाठन नै प्रभावित भएको छ । विद्यार्थीको शैक्षिकस्तर खस्किएको छ । तीन वर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् । पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो । गत असार ५ देखि ४६ छात्रछात्रामा प्रत्येक दिन यस्तै समस्या दोहोरिरहेको विद्यालयले जनाएको छ । दैनिक दुई/तीन घण्टा विद्यार्थी कक्षाकोठामा बस्नै सक्दैनन् । शिक्षकलाई सम्झाउन मुस्किल हुन्छ ।

प्रधानाध्यापक रामचन्द्र गिरीले कक्षा २ देखि ७ सम्मका अधिकांश छात्रामा यस्तो समस्या देखापरेको बताए । नेपालगन्ज मेडिकल कलेज र जिल्ला जनस्वास्थ्यबाट आएको चिकित्स टोलीले उपचार गर्दासमेत निको भएन । समस्या चर्कंदै गएपछि विद्यालयमा बोकाको बलि दिएर धामीझाँक्री बसाउँदा पनि समस्या नहटेको गिरीले बताए ।

‘कक्षाकोठामा विद्यार्थी रुन थालेको ३ वर्ष भयो,’ गिरीले भने, ‘स्वास्थ्यकर्मीले जाँच गरे । तर, निको भएन ।’ त्यहाँका ३६ छात्रा र १० छात्रमा यस्तो समस्या दोहोरिने गरेको उनले जानकारी दिए । आठदेखि माथिका कक्षामा समस्या छैन । ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकामा यस्तो धेरै देखिएको छ । एक महिना बन्द भएर विद्यालय आइतबार खुलेको थियो । आइतबार पनि छात्रछात्रा काप्न थालेपछि जिल्लाबाट जनप्रतिनिधि बोलाएर समस्या प्रत्यक्ष देखाइएको गिरीले बताए । उक्त दिनमात्रै ६ का ११ विद्यार्थी बिरामी परे ।

‘भूतप्रेतको आशंकामा अभिभावकको सल्लाहअनुसार धामीझाँक्रीसमेत बसाल्यौं,’ प्रअ गिरीले भने, ‘केही गरे पनि सुल्झिएन ।’ अहिले अभिभावकबाट चन्दा संकलन गरेर परिसरमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ । शिक्षकले मात्र सम्हाल्न नसकेपछि बिरामी पर्नेका अभिभावकलाईसमेत विद्यालयमा बोलाउने गरिएको उनले बताए ।

अभिभावक दैनिक दुई/तीन घण्टा विद्यालयमै बसेर छोराछोरी सम्हाल्छन्् । बिहान साढे १० देखि ३ बजेसम्म यस्तो समस्या हुने गरेको शिक्षक विनोद वलीले बताए ।समस्या बढेपछि विद्यालय प्रशासन र अभिभावक चिन्तामा छन् । तीन महिनादेखि ६ कक्षामा पढ्दै गरेकी १२ वर्षीया छोरी पवित्रा विद्यालयमा रुने गर्दा पीडा थपिएको आमा कमला कुँवरले बताइन् । ‘घरमा केही हुँदैन,’ उनले भनिन्, ‘विद्यालय पठायो कि बिरामी भइहाल्छे ।’ उनले छोरीको पढाइ र स्वास्थ्यको चिन्ताले सताइरहने सुनाइन् । घटनाबारे बुझ्न आइतबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेसहितको स्वास्थ्य र गाउँपालिकाको टोली विद्यालय पुगेको थियो । टोलीले अभिभावक र विद्यार्थीलाई केही दिन मनोवैज्ञानिक परामर्श दिनुपर्ने बताएको छ ।

‘विद्यार्थीमा मनोवैज्ञानिक समस्या बल्झिँदै गएको देखियो,’ प्रजिअ गैरेले भने, ‘विद्यार्थी र अभिभावकलाई केही दिन मनोचिकित्सा सेवा प्रदान गर्ने योजना बनाउन गाउँपालिकालाई भनेका छौं ।’

नेपालगन्जबाट आएको मनोचिकित्सकसहितको विशेषज्ञ टोलीले ‘मास हिस्टेरिया’ ले गर्दा समस्या देखिएको बताएकाले धामीझाँक्री नभएर स्वास्थ्य टोलीले भनेअनुसार उपचार प्रक्रियामा लाग्न सम्झाएको प्रजिअ गैरेले बताए । विद्यार्थी काँप्दै विद्यालय परिसरभित्र निर्माण गरिएको सरस्वतीको मन्दिरमा गएर टीका लगाउने गर्छन् । ‘काँप्दै विद्यालयमा रहेको वरको रूख किन काटेको, मसानको मूर्ति किन बनाएको भन्दै बर्बराउँछन्,’ शिक्षक वलीले भने, ‘मुटु दुख्ने, आङ काँप्ने, भूत आयो, नाइ जान्न, मलाई किन लतारेको भनेर विद्यार्थी तर्सिन्छन् ।’


सम्बन्धित शीर्षकहरु

अहमदाबाद विमान दुर्घटना: गृहमन्त्री अमित शाहले भने, "यात्रुका आफन्तको डीएनए नमूना लिइएको छ" गुजरातमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि गृहमन्त्री…

इजरायलको अर्थतन्त्रको लचिलोपन बुझ्नको लागि, संकटको समयमा देशको सामना गर्ने क्षमतालाई प्रतिबिम्बित गर्ने वस्तुनिष्ठ तथ्याङ्क हेर्नुपर्छ। "फलामको तरवार" युद्धको सुरुवातमा,…

मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले विपक्षी दलहरू, निजामती कर्मचारीहरू, शिक्षकहरू र सेनासँग असन्तुष्टिको संकेतहरूको बीचमा तीव्र विरोधको सामना…

प्रतिकृयाहरू
...