Thursday 15th January 2026

अपहरित महिला गाडिएको अवस्थामा भेटिइन्


तितोपाटी-दुई साताअघि घरबाटै अपहरित सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव शनिबार माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

शव कुहिएर गन्हाउन थालेपछि स्थानीय बासिन्दाले बाँसघारीमा शव गाडिएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले शव गाडिएको अवस्थामा निकालेको थियो ।

प्रहरीले शव निकालेपछि उक्त शव अपहृत कारीदेवीकै भएको निजका आफन्तजनले बताएका छन् । शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो । गत साउन २५ गते आफ्नै घरबाट अपरिचित दुई जनाले तपाइँको भतिजा बिरामी रहेको भन्दै कारीदेवीलाई अपहरण गरी लगेको स्थानीय बासिन्दाले बताएका छन् ।

जेठाजुसँग चल्दै आएको घरजग्गा अंशको विषयमा कारीदेवीको विवाद चल्दै आएकोे र सोही विवादका कारण उहाँको अपहरण भएको हुनसक्ने भन्दै स्थानीय बासिन्दाले तीन दिनअघि यादवको दुई जना आफन्तलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए ।

यसैबीच आक्रोशित स्थानीय बासिन्दाले अपहृत यादवको खोजतलासमा प्रहरीले चासो नदिँदा अपहरणकारीले हत्या गरी गाडेको भन्दै आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडक खण्ड एक घण्टा अवरुद्ध गरेका छन् । स्थानीय बासिन्दाको अवरोधका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधनहरु बाटोमै अलपत्र परेका थिए ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...