Saturday 4th April 2026

नुवाकोटमा बाढीको वितण्डा, बस्तीहरू पहिरोको उच्च जोखिममा


तितोपाटी – शुक्रबार रातिदेखि परेको अविरल बर्षाले नुवाकोटको विभिन्न बस्तीका बासिन्दालाई घरबारविहिन बनाएको छ भने पहिरोको जोखिम समेत बढाएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका ११ मा रहेको अमारेमा बाढी आउँदा स्थानीय हरिभक्त तिवारीको २ वटा घरमा क्षती पुर्याएको छ। प्रहरी चौकी तादीका अनुसार तिवारीको घरमा सञ्चालन गरिएको किराना पसल, मासु पसल, खाजा घर र कुखुरा फार्मलार्ई बगरमा परिणत गरिदिएको छ। यस्तै, तिवारीको घरमा बस्दै आएका रामराजा तामाङ र उनकी श्रीमती शुभलक्ष्मी तामाङ सामान्य घाइते भएका छन्। बाढीको कारण ८ लाख रुपैयाँ बराबरको धनसम्पती नष्ट भएको प्रहरीले जनाएको छ।

यस्तै शिवपुरी गाउँपालिका– ६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घरमा क्षती पुगेको छ। बाढीले लामाको घरमा रहेको तीनवटा बाख्रा पुरिएको छ भने तामाङको लत्ताकपडा तथा अनपात लगायत ६ लाख रुपैयाँ बराबरको धनमालमा क्षती पुर्याएको प्रहरीले जनाएको छ।

यस्तै इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार तादी गाउँपालिका ६ आलडाडा निवासी डोरबहादुर तामाङकोे दुई र मीनबहादुर तामाङको एक घरलाई बाढीले क्षती पुर्याएको छ। विदुर नगरपालिका २ पाटीपानीका अर्जुन कसाईको घरलाई पनि वर्षासँगै आएको पहिरोले पुरिदिएको छ। पञ्चकन्या गाउँपालिका– ४ थप्रेकमा पहिरो जाँदा गोले टोलका बुद्घिबहादुर तामाङ, चुर्ण बहादुर तामाङ, वीरबहादुर तामाङ, रामकुमार तामाङ, कान्छी तामाङ, शेरबहादुर तामाङ र खोले टोलका शुक्र बहादुर तामाङ, मानबहादुर तामाङ, श्याम बहादुर तामाङ, जितबहादुर तामाङ, बुद्घिबहादुर तामाङ, शेरबहादुर तामाङ र माइली तामाङको घर जोखिममा परेको छ।

यस्तै, किस्पाङ गाउपालिका ३ कितिली बगरस्थित सलाखु खोलामा आएको बाढीको कारण १०० मिटर लम्बाई भएको झोलुङ्गे पुल पूर्ण रुपमा क्षती भएको छ। प्रहरी चौकी फिकुरीको अनुसार ओमबहादुरको पक्कि घरमा बाढी पस्दा दूई लाख रुपैयाँ बराबरको धनमाल बगाएको छ। यस्तै, जित बहादुर तामाङको ८ रोपनी, रुद्र बहादुर तामाङको ३ रोपनीे, कृष्ण बहादुर तामाङको ३ रोपनी, नुर बतासी तामाङको ३ रोपनी खेत खोलाले बगाएको छ। उनीहरुको खेतमा रोपिएको धान गाड्ने बेला भइसकेको थियो।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...