Saturday 4th April 2026

जाजरकोटमा बाढीको बितण्डः स्थानिय झुम्रे खोलाले घर, घुम्ती पसल र झोलुंगे पुल बगायो


तितोपाटी – गएरातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको झुम्रे (कैना) खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ। बाढीले नलगाड नगरपालिका ३ कैनाका गोकर्ण चन्दको घर, खेत, पशुचौपाय बगाएको छ।

वडा नम्बर ५ कालीमाटीका खिमलाल जैसीको पक्की घर बाढीले बगाएको स्थानीयवासी वीनबहादुर सिंहले जानकारी दिए। उनका अनुसार वडा नम्बर ४ का हिरालाल पन्त र वडा नम्बर २ का सर्वजीत सुनारको मिल बगाएको छ। त्यस्तै सोही खोलानजिकमा रहेका दीपक सुनारका दुई ओटा घट्ट बगाएको छ। वडा नम्बर ५ कालीमाटीमा रहेका ६ ओटा घुम्ती पसल समेत बगाएको प्रहरीले जनाएको छ।

बाढीले घवाराको झोलुङ्गेपुल र छेप्का कालीमाटी जोड्ने टस ब्रिज बगाएको छ। पुल बगाएपछि आवागमन बन्द भएको स्थानीयवासी हासिलाल पन्तले बताए। उनका अनुसार बाढीले खोला छेउका सयौँ रोपनी धान खेत समेत बगाएको छ।
‘यति ठूलो बाढी आएको अहिलेसम्म देखेको थिइनँ’, उनले भने ‘गएराति आएको बाढीले करोडौको क्षति पुर्‍याएको छ।’ खोलाले अहिले पनि खेतहरू कटान गरिरहेका उनले बताए।

प्रहरीले अहिले क्षतिको विवरण संकलन गरिरहेकोले कति क्षति भयो भन्नेबारे अझै एकीन भइनसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्र सिंहले बताए।

बाढीको कारण खोला छेउछाउका बासिन्दा त्रसित बनेका छन्। जथाभावी डोजर प्रयोग गरेर बाटो खन्दा बाढी आएको स्थानीयवासीको भनाई छ। प्रभावित क्षेत्र सदरमुकामबाट १६ कोष पूर्वमा पर्छ।

बाढी आएको खोलाको सहायक खोला नलगाड ३ स्थित भदाले खोला केही बेरअघि माथिबाट आएको ढिस्कोले थुनिएको छ। यदि उक्त स्थान फुटेमा तलतिरको क्षेत्रमा थप क्षति हुन सक्ने स्थानियवासी छवि पन्तले बताए।

बस्ती रहेको कालीमाटीदेखि थुनिएको क्षेत्र १० किलोमिटर माथि छ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...