Monday 16th February 2026

भारतीय संसदद्वारा बलात्कारीलार्इ मृत्युदण्ड दिने कानून पारित


तितोपाटी – भारतीय संसद्को तल्लो सदनले १२ वर्षभन्दा कम उमेरका बालक वा बालिकाको बलात्कार गरेको दोषी ठहर हुने जो कोहीलाई पनि मृत्युदण्ड दिने एउटा विधेयक सोमवार पारित गरेको छ।

तर के यस्ता कानूनले अपराध नियन्त्रण हुन सक्ला?

यौन अपराधबाट बालबालिकाको संरक्षण गर्नेसम्बन्धी ऐन- पोस्को एक्ट- मा गरिएको संशोधन महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको पहलमा पारित भएको हो। यो संशोधनसँगै बालबालिकामाथि हुने यौन अपराधहरू कम हुने आफूले ठानेको उनले बताइन्।

भारत-प्रशासित कश्मीरमा एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्या तथा हालै मध्य प्रदेश राज्यमा एकजना बालिकाको बलात्कारसहित अन्य बलात्कारका घटनाले व्यापक चर्चा पाए लगत्तै सो संशोधित नयाँ कानुन ल्याइएको हो। सन् २०१२ मा ८ हजार ५४१ जना बालबालिकाको बलात्कार भएको विवरण प्राप्त भएकोमा सन् २०१६ मा त्यो संख्या बढेर १९ हजार ७६५ पुगेको अपराधसम्बन्धी आधिकारिक भारतीय तथ्यांकले देखाउँछ।

कानुनमा गरिएका नयाँ संशोधनहरूले १२ वर्षमुनिका बालिका वा बालकको बलात्कार गरेको ठहर भए मात्र पनि अदालतले अब मृत्युदण्डको सजाय सुनाउन पाउनेछ। कानुनमा गरिएका त्यस्ता परिवर्तनहरूपछि पनि भारत त्यस्तो देश हो जो मृत्युदण्डको सजाय दिन इच्छुक भेटिदैँन। दुर्लभभन्दा पनि दुर्लभ घटनाहरूमा मात्र त्यस्तो मृत्युदण्ड दिन पाइने भनेर सुझाइएको छ जसको व्याख्याको जिम्मा अदालतलाई दिइएको छ। त्यहाँ सन् २०१५ को जुलाई ३० मा पछिल्लो पटक आतंकवादसँग जोडिएको एक घटनामा मृत्युदण्ड दिइएको थियो।

धेरैजनाले स्वागत गरे पनि केही अधिकारकर्मीहरूले नयाँ कानुनी संशोधनको आलोचना गरेका छन्।

बलात्कार रोक्न नयाँ संशोधन के साँच्चै नै प्रभावकारी होला त? भन्दै उनीहरूले प्रश्न गरेका छन्।

यो प्रश्न विश्वव्यापी रूपमा नै विवादित बन्न पुगेको प्रश्न हो। के सजायमा गरिने कडाइले साँच्चै अपराधमा कमी ल्याउँछ? छिमेकी देशका केही घटनाहरूले त्यस्तो नहुनेतर्फ संकेत गर्छन्।

पाकिस्तान, बांग्लादेश तथा अफगानिस्तानले बलात्कार मुद्दामा मृत्युदण्डको सजाय दिने गर्छन् र मृत्युदण्डको पक्षमा रहेका धेरै भारतीयहरूले प्रायःजसो यिनै देशहरूलाई देखाउँदै “बलात्कार नसहने” देश भन्दछन्।

यी देशहरूमा बलात्कारका कमै घटना भएको पनि सामान्य बुझाइ छ। दक्षिण एसिया क्षेत्रस्थित विज्ञहरूले मृत्युदण्डको व्यवस्था लादियो भने वास्तवमा यसले न्याय प्रणाली सजाय दिनबाट हच्किने सम्भावना बढ्ने बताउँछन्। खासमा कडा कानुनहरू अपराध घटाउन त्यतिबेलासम्म प्रभावकारी हुन सक्दैनन् जतिबेलासम्म सँगसँगै समाज, न्याय प्रणाली, कर्मचारी तथा प्रहरीको दृष्टिकोणमा परिवर्तन आउँदैनन्।

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना तथा दर्शन गरी श्रद्धापूर्वक मनाइँदैछ। विशेष गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य…

प्रतिकृयाहरू
...