Tuesday 3rd March 2026

विदेश पसेको ४६ वर्ष पछि ७० वर्षको उमेरमा घर फिर्ता !


तितोपाटी – लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए । त्यसपछि पुन: भारत गएपछि बेपत्ता भएका थिए ।

२०२८ सालदेखि घर छोडी ४६ वर्षपछि फर्केका लमजुङको बेंसीसहर नगरपालिका–२, भकुन्डे खत्रीगाउँका ७० वर्षीय प्रेमबहादुर खडका भारत मेघालयस्थित गाई फार्ममा काम गरेर ७० वर्षको बुढ्यौली उमेरमा शुक्रबार गाउँ फर्किएका हुन् ।

भकुन्डे क्षेत्रमा बसबाट ओर्लिएर उनी सोधखोज गर्दै गाउँसम्म आइपुगे । ‘खडका गाउँ आउँदा बूढापाकाले ढिला गरी चिने,’ उनका छिमेकी पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष कृष्ण केसीले भने, ‘उनले पनि केही बूढापाकालाई सम्झिएका रहेछन् ।’ केसीका अनुसार प्रेमबहादुर अहिले असहज अवस्थामा छन् ।

‘बाँचेर गाउँ फर्किन्छु जस्तो सोचेको थिइनँ । जन्मभूमिमा फर्कन मलाई भगवानले बचायो,’ खडकाले मसिनो गरी हिन्दी लवजमा नेपाली बोल्दै भने, ‘सबैसँग भेट भयो । खुसी लाग्यो ।’ प्रेमबहादुरसँग नेपाली नागरिकता छैन । उनको नजिकका आफन्त पनि छैनन् । बुवाआमाको नागरिकता थियो/थिएन भन्नेबारे पनि उनलाई थाहा छैन । प्रेमबहादुरका अर्को आमापट्टिका सन्तानको भने नागरिकता छ । ७० वर्ष पुगेपछि भत्ता पाइन्छ भन्दा उनले नागरिकता लिन मन गरेको केसीले बताए ।

२००४ वैशाख १४ गते आफ्नो जन्ममिति भएको बताउने प्रेमबहादुर बाल्यकालमै मजदुरी गर्न भारत गएका थिए । २०२८ मा बुवा चन्द्रबहादुरको निधन हुँदा उनी काजकिरियाका लागि आएर १४ दिन घर बसेका थिए । त्यसपछि पुन: भारत गएका उनी बल्ल गाउँ आएका हुन् । बुवा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने प्रेमबहादुर अहिले कान्छी आमापट्टिका छोरा अर्थात् भाइ तिलकबहादुर खडकाको परिवारसँग बसेका छन् । प्रेमबहादुर अझै अविवाहित छन् । प्रेमबहादुर घर फर्केपछि तिलकबहादुर पनि खुसी छन् । ‘कुखुराको एउटा चल्लाको त कति माया लाग्छ भने मानिसको माया किन नलाग्नु । झन् आफ्नै दाइको माया नलाग्ने कुरा भएन,’ उनले भने, ‘पहिले त हैन जस्तो लागेको थियो । पछि सम्झिँदै ल्याउँदा आफ्नै दाइ रहेछन् । सँगै खाना खुवाएर दु:खसुखको भलाकुसारी गर्दैछु ।’

फर्कंदा लुटिए
गाउँ फर्कंदै गर्दा लुटिएको र आफूमाथि मरणासन्न गरी कुटपिट भएको प्रेमबहादुरले बताए । घर फर्कने क्रममा ७ जनाको समूहले कुटपिट गरी साथमा रहेको करिब २३ हजार भारतीय रुपैयाँ पनि लुटेको उनले बताए । उनका अनुसार लुटपाट र कुटपिट गरी जंगलमा फालिदिएका उनलाई स्थानीय गाउँलेले बचाएका थिए । ‘उनीहरू को हुन्, कसरी कहाँबाट आएका हुन् भन्ने थाहा भएन,’ उनले भने, ‘लमजुङकै धमिलिकुवाका गुरुङ भाइले खर्च दिएपछि घर आउन सफल भएँ ।’ कुटपिटबाट खडकाको खुट्टा र शरीरका विभिन्न भाग सुन्निएका छन् । उनका भाइ तिलकबहादुरले केही दिनको आरामपछि अस्पताल लगिने बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...