तितोपाटी – बाँके राष्ट्रिय निकुञ्ज नजिकैको गाउँमा पर्यटकहरूका लागि स्थानीयले सञ्चालनमा ल्याएको होमस्टे निकै लोकप्रिय बन्न पुगेको छ । होमस्टेकै कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिका १ गाभरको पर्यापर्यटकीय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक समेत बढ्दै गएको छ ।
गाभर भ्याली निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि नमुनाको रुपमा समेत चिनिदै आएको छ । गाभर भ्यालीमा दङगाली होमस्टे र नमुना थारु गाउँ होमस्टे संचालनमा रहेका छन् ।
पारिवारिक बसाई र थारु परिकारका साथ साथै वासस्थानका लागि गाभर भ्यालीमा सुविधा सम्पन्न होमस्टे सञ्चालन भइरहेको दङगाली होमस्टेका सञ्चालक बुझावन थारुले बताउनु हुन्छ ।
होमस्टेमा विशेष थारु परिकारहरु अनदीको भात, सिद्रा, ढिक्री, घोंघी, गंगटा, परेवाको मासु, झिंगे माछा, अनदीको रोटी, फुलौरी मौसम अनुसारको फलफुल र सागसव्जीहरुले पर्यटक लोभ्याउन सफल भएका छन् ।
नेपालगन्जदेखि करिव २३ किलोमिटर दुरीमा रहेको उक्त होमस्टेमा स्थानीय तथा वाह्य पर्यटकहरु समेत आउने गरेका छन् । होम स्टेकै वरिपरि चुरे पहाडसँगै जोडिएको हुनाले सधैंभरि हराभरा र हरियाली मौसम देखिने गरिन्छ । पर्यटकको माग अनुसार स्थानीय संस्कृति नाचगान समेत देखाउने गरिएको छ ।