Thursday 25th September 2025

बलात्कारको अभियोगमा सशस्त्रका २ जना प्रहरी पक्राउ


तितोपाटी – बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन्। कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतुङगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्वय रामशरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन्।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार बिहीबार साँझ पोखरेल र पछाई केटी साथी लिएर कलंकीको आशिर्वाद गेष्ट पुगेका थिए। पोखरेल फुटबल खेलाडी समेत भएकाले आफ्नी केटी साथीलाई लिएर गेष्ट हाउसमा पुगेपछि पछाईलाई पनि बोलाएका हुन्। पछाई सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाका ढोके भएकाले पोखरेलसँग उनी नजिकको साथी बनेका थिए।

नजिकको साथीलाई आफ्नी केटी साथीको परिचय गराउँदै त्यही गेष्ट हाउसमा बसेका दुवै जनाले बलात्कार गरेको आरोप लागेको छ। आफू सुतेको कोठामा आएर पोखरेल र पछाई दुवै जनाले आफूलाई बलात्कार गरेको भन्दै उनले शुक्रबार बिहान कालिमाटी प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कालिमाटी प्रहरी वृत्त स्रोतले जानकारी दिएको छ। पोखरेल र पछाईले ती महिलालाई मोबाइल किन्न भनेर १० हजार समेत दिएका थिए । ‘एउटै गेष्ट हाउसमा बसेको देखियो, पोखरेल र ती युवतीवीच पुरानो प्रेम सम्बन्ध रहेको र बीचमा सम्बन्ध टुटेको र पुनः सम्बन्ध जोडिएको देखिन्छ। बिहीबार उनीहरुले सँगै खाना खाएर बेग्लाबेग्लै कोठमा सुतेको अवस्थामा कोठाको ढोका खोलेर आफूलाई बलात्कार गरेको भन्ने उजुरी आएको छ’, प्रहरी स्रोतले भन्यो।

कालिमाटी प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपकुमार क्षेत्रीले उनीहरुलाई शुक्रबार बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानको लागि समय लिएर महिला सेललाई जिम्मा लगएको बताए। ‘युवती पीडित भएका कारण हामीले महिला सेललाई थप अनुसन्धानका लागि जिम्मा लगाएका छौं,’ डिएसपी क्षेत्रीले भने। महिला सेलले उनीहरुलाई जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगअन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। फौजदारी मुद्दा लागेपछि पोखरेल र पछाई दुवै जना हाल स्वतः निलम्बनमा परेका छन्।

यसअघि जबरजस्ती करणीको आरोपमा प्रहरीले सशस्त्र प्रहरी विन्दवासिनी गण चन्द्रौटाका एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको थियो। शिवराज नगरपालिका एक जना बोल्न नसक्ने ३५ वर्षे महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको थियो। गण नजिकैको फाएरिङ रेञ्ज जंगलमा भैंसी चराउन गएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौंको तथ्यांकअनुसार बलात्कारका मुद्दा हुने क्रम बढ्दो छ। सो तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा १ सय ८ वटा मुद्दा दर्ता भएका थिए। त्यस्तै आर्र्थिक वर्ष २०७३/०७४ मा १ सय ४३ वटा मुद्दा दर्ता भएका छन्। ललितपुरमा आर्थिक वर्ष २०७१/०७२ मा १७ वटा, ०७२/०७३मा ११ वटा र ०७४ मसान्तसम्ममा १० वटा बलात्कारका घटना उजुरी परेका थिए। तर भक्तपुरमा यसको दर घट्दो रहेको छ। भक्तपुरमा २०७१/७२ मा २१, २०७२/७३ मा १३ र २०७३/७४ मा ११ बलात्कारका घटना भएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...