Monday 6th January 2025

इमान्दारीता र नैतिकताका लागि स्यालुट छ मन्त्री ज्यु


मञ्जु नेपाल भण्डारी,  सुनकोशी ३, सिन्धुपाल्चोक – आज म अत्यन्तै दुःखी छु किनकि देशले तपाईंजस्तो होनहार र नैतिकवान् मन्त्री गुमाएको छ । म दुःखी मात्रै हैन खुशी पनि छु किनकी तपाईंले देखाएको इमान्दारीपन र असल नैतिक चरित्रका कारण । यो खुशी भित्रको दुःख र दुःख भित्रको खुशीले मलाई यी दुइचार अक्षर कोर्न मन लागेको छ ।

हो, हाम्रो समाजले भन्ने गरेको छ बोलेको बोली र बन्दुकको गोली निस्केपछि फिर्ता जाँदैन । यो सँगसँगै नेपाली राजनीतिका नेताहरुलाई बोल्दा विचार पुर्याउनु पर्छ भन्ने एउटा राम्रो पाठ सिकाई पनि भएको छ । तर मलाई लाग्छ तपाईंले राजिनामा नै दिनुपर्ने गरी गल्ती बोल्नु भएको थिएन । म पनि एउटा महिला हुँ । तपाईंले सत्यकुरा बोल्दा महिला अस्मिताको कुरा गरियो । अतिरंजित तरिकाले सामाजिक संजालहरुमा भाइरल बनाइयो । विपक्षिहरु सत्ता वियोगको पिडाले छट्पटाइरहेको बेला, मिडियाहरु अनसन बाजेका पछाडि लागेर सरकारको धज्जी उडाइरहेको बेला, यहाँले बोल्नुभएको सत्यकुरा नेपाली मिडिया जो कुनै दलका मुखपत्र बनेर काम गरिरहेका छन्, तिनलाई गतिलो मसला बन्यो । सत्य कुरा त्यहि हो नि । होइन भने त्यहाँ किन समस्या आइरहेको छ । नेपालबाट प्रतिदिन ५४ जना चेली बेचिएको आँकडा पनि छ । विदेशमा मात्रै होइन नेपालभित्रै पनि त हरेक दिन बलात्कार र अनेकौं घरेलु हिँसा पीडित भएका घटना आएरहेका पनि छन् । तपाईंले राजिनामा दिएकै दिन बंगलादेश मै एक छात्राले आत्महत्या गरिन् नि । के कुनै समस्या नै नभइ ज्यान फालिन् त यि छात्राले ? समस्या गम्भीर छ । र यो समस्याको छानविन हुनुपर्छ ।

यो समस्या बंगलादेशमा मात्रै होइन विश्वका धेरै मुलुकमा छ । फरक यत्ति मात्रै हो बंगलादेशमा पढ्न जाने अलिक वढि छन् अन्यत्र कामका लागि । हामीले हरेक दिन कुनै न कुनै रुपमा महिला हिंसाको घटना सुनिरहेका छौं नि । चाहे देश भित्र होस् वा देश बाहिर । के यो दर्दनाक अवस्थाबाट नेपाली महिलाले मुक्ति पाउने दिन आउँदैन त ? सरकारमा भएको एकजना मन्त्रीले पहिचान गरेको समस्या उजागर गर्न किन नपाउने ? पाउनुपर्छ । हो बंगलादेशमा मात्रै होइन जुनसुकै देशमा जाने हरेक चेलीले आफ्नो शरीर कसैलाई सुम्पिनु पर्दैन । तर अधिकांश महिलाले हिंसा भोग्न बाध्य छन् । विदेशका मात्रै कुरा कहाँ हो र ? नेपाल भित्रै पनि हेर्नुस् न, कहिले बोक्सीको आरोपमा कुटपिटको घटना बाहिर आएको छ, कहिले छाउप्रथाका कारण मृत्युबरण गरेको घटना बाहिर आइरहेको छ । नेपालभित्रै बलत्कारका घटना दिनहुँजसो भैरहेका छन् । के एउटा जिम्मेवार मन्त्रीले महिला हिंसाको खुलेर उजागर गर्न नपाउने ? यो कहाँको न्याय हो ? यो कहाँको कानुन हो बोल्न नपाउने ?

तपाईंले बोलेको मैले पनि सुनेको छु मन्त्री ज्यु । त्यो नाजायज थिएन । बरु तपाईंको बोलीमा त्यस्ता घटना र त्यसका पीडा प्रति लक्षित थियो र सरकारले यसका लागि बैकल्पिक योजना बनाउनुपर्छ भन्नेमा लक्षित थियो । तर यहाँ त खेलियो, राम्रोसँग गोल हानियो । एउटा सामान्य गरिब किसानको छोरो, तामाङ्ग परिवारमा जन्मेको सिन्धु पुत्र तपाईं सोझो भएकै कारण नैतिकताको गोल खानु पर्यो । तपाईंलाई पुर्व कृषि मन्त्री हरी पराजुलीसँग हेरीयो । तपाईंलाई तत्कालिन भुमिसुधार मन्त्री प्रभु शाहसँग दाँजियो । तपाईंलाई पुर्व रक्षा मन्त्री शरदसिंह भण्डारीसँग तुलना गरियो । तपार्इंंलाई तत्कालिन उर्जामन्त्री राधा ज्ञवालीसँग तुलना गरियो । यो गलत थियो । उनीहरु जस्तो तपाईंले कसैका श्रीमती र बुहारीहरुका अंग छुनुभएको होइन । कसैको ज्यान मार्न लगाएको आरोप पनि छैन । देश टुक्राउँछु पनि भन्नुभएको छैन । तपाईंलाई कुनै योजना परियोजनाबाट रकम हिनामिना गरेको अभियोग पनि लागेको होइन । तर भोगटेका चस्मा लगाएर हेर्ने पत्रकारहरुले तपाईंलाई पनि गतल नै देखे ।

हाम्रो आशा थियो तपाईंले पाँच वर्षसम्म गरिब जनताको पक्षमा कानुन निर्माण गर्नुहुनेछ । आशा गरे अनुसार तपाईंको रफ्तार पनि तेज नै थियो । तपाईंले चार महिनाको यो छोटो अवधिमा गरेका काम अत्यन्तै सराहनीय छ । भ्रष्टाचार उन्मुलन गर्ने अभियान, न्याय क्षेत्रको पारदर्शिता, सार्वजनिक निकाय र सार्वजनिक व्यक्तिको पारदर्शिताको मुद्दा र दातृ निकायबाट नेपाल आउने रकमको एकद्धार प्रणालीको व्यवस्थापन आदि सदाका लागि स्मरणयोग्य छन् ।

अन्ततः तपाईंले बोलेको सानो गल्ती महसुस गर्दै आफ्नो इमान्दारिता प्रदर्शन गर्नुभयो । नैतिकता भित्र मात्रै अट्न नसकेको नेपाली राजनीतिमा एउटा अमुल्य नैतिकता प्रस्तुत गर्नुभयो । यो आम नेपालीका लागि गतिलो सिकाइ भएको छ । यसका लागि तपाईं महान हुनुहुन्छ मन्त्री ज्यु । अब तपाईंलाई तपाईंले नै बोलेका जुन विषय विष जत्तिकै बन्यो त्यहि विषयको उचित छानविन गर्न, देश भित्र र बाहिर नेपाली महिला विरुद्धको हिंसाको अन्त्य गर्नका लागि समय मिलेको छ । यहि विषयलाई उठान गर्दै यसको मुल जरो नष्ट गर्न तपाईंको प्रयास जारी रहन्छ भन्ने पनि मलाई लागेको छ । यसका लागि व्यक्तिगत रुपमा मैले गर्ने सहयोग पनि यहाँले पाउनुहुनेछ । सिंगो पार्टि पंक्तिले तपाईंलाई सहयोग गर्नुपर्छ र गरोस् भन्ने कामना पनि गर्न चाहन्छु । तपाईंले देखाउनुभएको इमान्दारिता र नैतिकताको लागि म स्यालुट गर्छु मन्त्री ज्यु । यसको लागि हार्दिक धन्यवाद ।


सम्बन्धित शीर्षकहरु

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जिल्ला अदालत कास्कीमा दायर भएको सूर्यदर्शन सहकारी ठगीको अभियोग माथि नै प्रश्न उठाएका…

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । लिबरल पार्टीको नयाँ नेता चयन…

निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवस तथा स्थानीय पर्व 'हाला फेब' को अवसर पारेर 'निरेम म्युजिक…

प्रतिकृयाहरू
...