Tuesday 17th March 2026

मलेसियाका पुर्वप्रधानमन्त्री नजिव रजाक भ्रष्टाचारको अारोपमा पक्राउ


तितोपाटी – मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाक मंगलबार पक्राउ परेका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्रा परेका रजाकलाई बुधबार मुद्दा लगाइने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनीविरुद्ध राज्यकोषको चरम दुरुपयोग गरी ७ सय मिलियन डलर हिनामिना गरी आफ्नो बैंक खातामा सारेको आरोप छ । ६४ वर्षीय पूर्वप्रधानमन्त्री रजाकले सरकारी विकास कोष वान एमडीबीबाट रकम हिनामिना गरेको आरोप लगाइएको हो । यद्यपि रजाकले आफूले कुनै पनि सरकारी रकम दुरुपयोग नगरेको दाबी गर्दै आएका छन् ।

क्वालालम्पुरलाई एक आर्थिक केन्द्र बनाउने एवं रणनीतिक लगानीमार्फत अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यका लागि सन् २००९ मा रजाकले वन एमडीबी स्थापना गरेका थिए । तर २०१५ को आरम्भतिर बैंक तथा वित्तीय संस्थामा लगानी गरेकालाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि उक्त परियोजनाप्रति आशंका पैदा भएको थियो ।

त्यति बेला वन एमडीबी कोषबाट ७० करोड डलर रजाकका निजी ब्यांक खातामा सारिएको कागजपत्र आफूले फेला पारेको दाबी गर्दै वाल स्ट्रिट जर्नलले विवरण प्रकाशित गरेको थियो ।

वान एमडीबीको विषेश फौजले जारी गरेको विज्ञप्तिअनुसार उनी स्थानीय समयअनुसार २ बजेर ३५ मिनेटमा आफ्नो घरबाट पक्राउ परेका हुन् । विज्ञप्तिमा उनीविरुद्ध बुधबार बिहान ८.३० बजे राजधानी क्वालालम्पुरस्थित उच्च अदालतमा मुद्दा दायर गरिनेछ ।

भ्रष्टाचारको आरोप लागेसँगै आलोचित रजाकको गठबन्धन गत मे महिनामा भएको निर्वाचनमा पराजित भएको थियो । उनलाई राजनीतिक अभिभावक महाथिर मोहम्मद नेतृत्वको पार्टीले पराजित गरिदिएपछि रजाक सत्ताबाट बाहिरिएका थिए । निर्वाचनमा पराजित भएपछि रजाकलाई मलेसियाबाट बाहिरिनसमेत प्रतिबन्ध लगाइएको थियो । रजाकलाई पक्राउ गर्नु केही दिनअघि उनकी श्रीमती रोज्मा मन्सुर, छोरा रिज अजिज र पूर्वसहयोगी जाहिद हमिदीसँग पनि सोधपुछ गरिएको थियो ।

पछिल्ला केही साताहरूमा राजाकको व्यक्तिगत सम्पत्तिमाथि पटकपटक प्रहरीले छापा मारेको थियो । त्यस क्रममा २७ दशमलब ३ करोड अमेरिकी डलर मूल्य भएका विलाशिताका सामग्री र नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

मलेसियाको इतिहासमा बरामद गरिएको ती सबैभन्दा मूल्यवान् सामग्री भएको बीबीसीले उल्लेख गरेको छ । तिनमा गरगहनाको भाग ठूलो थियो । हीरा र सुनको एउटा गलहारको मूल्य नै १६ लाख अमेरिकी डलर पर्छ ।

प्रहरीका अनुसार बरामद भएका अन्य सामग्रीमा ५ सय ६७ वटा हातेझोलामा राखिएको ३ करोड अमेरिकी डलर, ४ सय २३ वटा मूल्यवान् घडी र २ सय ३४ चस्मा थिए । बरामद भएका सामग्री गन्न र तिनको मूल्यांकन गर्न एक महिनाभन्दा बढी लागेको अधिकारीले जनाए । रोज्माको महँगा सामान किन्ने तथा ब्रान्डेड सामग्रीप्रतिको मोहबारे पटकपटक चर्चा हुने गरेको थियो । उनलाई फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसकी पत्नी इमेल्डा मार्कोससँग तुलना गर्ने गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...