Thursday 12th March 2026

अायोजक रसियाले साउदी पछि इजिफ्टलार्इ पनि हरायो


तितोपाटी – आयोजक रसिया विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको हो ।

रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएर मैदान बाहिर रहेका प्रमुख स्ट्राइकर मोहम्मद सलाले पुनरागमन गरेको खेलमा रसिया नै हाबी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी रहेको अवस्थामा रसियाका लागि दोस्रो हाफको सुरुमै इजिप्टका अहमेद फाथीले आत्मघाती गोल उपहार दिए ।

अग्रता बनाएपछि रसियाले खेलमा दबाब बढायो । उसका लागि खेलको ५९ औँ मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै अग्रता २–० मा पुर्याउन सफल भए । इजिप्टविरुद्ध रसियाले ४८ वर्षपछि यो जित दर्ता गराएको हो ।

दोस्रो गोल गरेको ३ मिनेट भित्रै रसियाका लागि एर्टेम ज्युबाले गोल गरेपछि रसिया ३–० ले अघि बढ्यो । ३ गोलको अग्रतासँगै रसियाले खेलमा पकड बनाएका बेला ७३ औँ मिनेटमा इजिप्टले पेनाल्टी पायो ।

पेनाल्टीलाई प्रहार गर्दै सलाहले इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे । तर रसियाले २ गोलको अग्रता बनाइसकेकाले इजिप्ट खेलमा फर्किनै सकेन । विश्व कपमा रुसको टिमले सन् १९७० मा (तत्कालीन सोभियत संघ) लाई हराएयता दोस्रो पटक इजिप्टलाई हराएको हो ।

अर्कातिर इजिप्टका मोहम्मद सालाहले पनि ७३ औँ मिनेटमा गरेको पेनल्टी गोल २८ वर्षपछि इजिप्टले विश्वकपमा गरेको पहिलो गोल थियो । यसभन्दा अघि सन् १९९० मा नेदरल्यान्डविरुद्ध एक गोल गरेको थियो ।

अर्कातिर रुसले विश्व कपको सुरुवाती दुई खेलमा ८ गोल गरेर नयाँ रेकर्ड बनाएको छ। सन् १९३४ मा इाटलीले पनि दुवै खेलमा ८ गोल गरेको थियो ।

यो जितपछि रसिया समूह ए मा ६ अंकसहित शीर्ष स्थानमा छ । एक खेलेको उरुग्वे ३ अंकसहित दोस्रो स्थानमा छ । रसियासँग हारेपछि इजिप्टको भने दोस्रो चरणको सम्भावना करिब सकिएको छ । रूस र इजिप्ट विश्व कपमा पहिलो पटक आमने-सामने भएका हुन् । रूसले सन् १९७० पछि कहिले पनि विश्वकपमा लगातार दुई खेल जित्न सकेको थिएन ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...