Thursday 29th May 2025

जनप्रतिनिधि नै विजुली चोर, चोर्दाचोर्दै २ वडाअध्यक्ष पक्राउ


काठमाडौ -विजुली चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बुधबारको बैठकले विजुली चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।

यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्त रुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन् ।

सुरक्षाकर्मीसहित खटिएको प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेंसीमा हुकिङ गरी कुखुरा र्फममा विद्युत प्रयोग गरेको फेला पारेपछि पक्राउ गरेको थियो । पक्राउ गरी लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार रिहा भएका छन् ।

यसैगरी,राजविराज वितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका-५का वडाध्यक्ष रामानन्द चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्ष सहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।

विद्युत चोरी नियन्त्रण ऐन-२०५८ र नियमावली २०५९ मा विद्युत चोरी गरेर प्रयोग गरिएका उपकरणलाई लाग्ने लोडको आधारमा हिसाब गरी एक वर्षको जरिवाना तिराउने व्यवस्था छ । यही व्यवस्थाअनुसार निर्धारण गरिएको जरिवाना तिरी दुवै वडाध्यक्ष छुटेका हुन् । यसअघि बर्दियाको मधुवनी नगरपालिका-२ का वडाध्यक्ष पहाडी थारु पनि विद्युत चोरीमा पक्राउ परी जरिवाना तिरेर रिहा भएका थिए ।

प्राधिकरणका बितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हेरक क्षेत्रीय कार्यालयले बढी विद्युत चुहावट हुने जिल्लामा नियन्त्रणको अभियान नै चलाउन लागेको जानकारी दिए । ‘विद्युत चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माईकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अपरेसन सञ्चालन गर्ने लगायतका काम अभियानकैरुपमा मुलुकभरी सञ्चालन गर्दै छौं’,उनले भने,’ठूला ग्राहक  (थ्री फेज) को मिटर चेक गरिने छ ।’

प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत चुहावट छ । चालू आर्थिक वर्ष ०७४/७५मा प्रणालीमा रहेको चुहावटलाई २०.०६ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ । गत आर्थिक वर्ष ०७३/७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर तथा वितरण लाइनको सदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

अक्टोबर ७, २०२३ मा सुरु भएको युद्धको छ सय दिन बितिसक्दा पनि इजरायलले गाजामा हमासको लगभग सबै वरिष्ठ नेतृत्वलाई समाप्त…

एजेन्सी -भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा…

इराकी सरकारले इराकको स्वायत्त कुर्दिश क्षेत्रसँग अमेरिकी ऊर्जा कम्पनीहरूको सम्झौतालाई समर्थन गरेको मंगलबार संयुक्त राज्य अमेरिकाले बताएको छ। क्षेत्रीय प्रधानमन्त्री…

प्रतिकृयाहरू
...