Friday 10th April 2026

एक हप्ताभित्र पसल हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने


काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्ल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर प्राप्त गरेको पसलहरु आफूहरुले एक महिनादेखि नपाएको उनीहरुको गुनासो छ ।

संस्थाका संरक्षक राजेश मानन्धरले पसलको ६ महिनाको अग्रिम भाडासमेत तिरेको स्थितिमा झुलाएर राखेको खेद व्यक्त गरे । उनले भने, ‘हामीसँग गुठी संस्थानले ६ महिनाको अग्रिम भाडा उठाईसकेको छ, आज आएर काठमाडौं महानगरका मेयरले अनेक बहाना बनाएर हामीलाई दुःख दिने काम गरिरहनुभएको छ, संस्थानसँग आफूहरुलाई त्यो पसलहरुको भएको जग्गा चाहिने भनेपछि यो समस्या उत्पन्न भएको हो, हामीले समस्या कसरी समधान गर्ने ? के गर्ने भनेर मेयरज्यूलाई भेट्न गएका थियौं, उहाँले समाधानका कुरा गर्न छोडेर समस्या झन बल्झाउने खालका कुराहरु गर्नुभयो ।’

अहिले पाएको अधिकार सोझो तरिकाले पाउन सकेनौं भने अदालतसम्म जान बाध्य हुने उनको चेतावनी थियो । उनले भने, ‘जहाँसम्म गुठी र महानगरले त्यो अवस्था आउन दिनेछैनन्, एक साताको समय दिएका छौं, सम्बन्धित निकाय समयमै गम्भिर बनोस् ।’ त्यस्तै काष्ठमण्डप व्यापार समाजका अध्यक्ष शरणकुमार बानियाँले प्रक्रियामार्फत प्राप्त गरेको अधिकार नपाएसम्म आन्दोलनमा उत्रिने जिकिर गरे ।

उनले भने, ‘हामीले कानूनी मान्यता पूरा गरेर ती पसलहरु पाएका हौं, २०७४ कात्तिक २ गते विज्ञापन गरिएको र मंसिर १० गते बोलपत्र आह्वान गरिएको थियो, त्यसमा २९ जनाले प्रतिष्पर्धामा भाग लिएका थिए, त्यसमध्ये हामी १५ जनाको नाम निस्कियो, सिंहसत्ल मन्दिरको भूईतलामा रहेका १५ वटा पसलको मासिक ४ लाख ८० हजार भाडा उठाउने सहमतिका आधारमा हामीले सामानहरु किन्यौं, आज आएर नदिने भनिएको छ, हाम्रो सामानहरु गोदाममा छन् ।’

कार्यक्रममा गुठी संस्थान प्रधान कार्यालयका निमित्त कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मीले गुठी संस्थानको मौखिक आदेश अनुसार बोलपत्र आह्वान गरेर ठेक्कामा दिईएका पसलहरु उपभोगकर्ताहरुलाई हस्तान्तरण गर्न नसकिएको स्विकार गरे ।

उनले भने,‘यो आन्दोलन गरेर समाधान हुने विषय होईन, गुठी संस्थानले अर्को आदेश जारी नगरेसम्म यो समस्या समाधान हुँदैन, महानगरले आवश्यक परेको जानकारी दिएपछि उक्त निर्णय रद्द गर्नुपरेको हो, त्यसबाट पर्न गएको क्षतिलाई समेत सम्बोधन हुनेगरि हामी समस्या समाधान गर्छौं ।’


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...