Monday 12th January 2026

राजपा पनि सरकारमा सामेल हुने संकेत


तितोपाटी – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने तयारी गरेको छ। केपी शर्मा ओली नेतृत्वको बहुमत सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएसँगै राजपाले पनि तयारी थालेको हो।

राजपाका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने जानकारी दिए। ‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ, सरकारले राजपासँग सम्वाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ’, सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने– ‘तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन्।’

सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने उनले जिकिर गरे। नेता झाले यही आउने बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथ ग्रहण भए त्यसको एक–दुई दिनभित्रै पार्टी सरकारमा जाने दोहोर्याए।

‘सरकारमा जान हामीलाई कुनै आपत्ति छैन, प्रधानमन्त्री केपी शर्मा ओली र यो सरकारका मन्त्रीहरुले पनि सकारात्मक प्रयत्न गरिरहनुभएको छ, म फेरि पनि दोहोर्याएर भन्छु हाम्रो पार्टीका सांसद रेशम चौधरीको सपथको वातावरण बन्यो र संविधान संशोधनमा सहमति भयो भने हामी सरकारमा जान्छौं’, उनले स्पष्ट पारे।

आफूहरुले संविधान संशोधनमा ‘टायम फ्रेम’ खोजेको पनि बताउँदै उनले थपे, ‘संविधान बनेको तीन वर्षभित्र अर्थात २०७५ असोज ३ गतेसम्म सबै कानून निर्माण भैसक्नुपर्छ, यो असोज ३ गतेअघि नै संविधान संशोधन होस् भन्ने हाम्रो चाहना हो, हामी सकारात्मक छौं।’
महासचिव झाले दुई नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने समेत जिकिर गरे। ‘दुई नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन्, हामी असहयोग गर्दैनौं’, उनको भनाई छ।

महन्थ सभामुख बन्न तयार

महासचिव झाले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभाको सभामुखको अफर गरे जिम्मेवारी वहन गर्न तयार रहेको जानकारी दिए। ‘यदि हामीलाई यस्तो जिम्मेवारी आउँछ भने हामी पछि हट्दैनौं’, उनले महन्थको चाहना सार्वजनिक गरे।

यसअघि महन्थले उपराष्ट्रपतिमा दाबी गरेका थिए। तर, संविधान संशोधनमै कुरा नमिल्दा यो त्यसै सेलायो। अहिले प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महरा छन्। उनलाई विस्थापित गरेर महन्थ सभामुख बन्लान त? त्यो हेर्न बाँकी नै छ। यसअघि महन्थले सभामुख निर्वाचित नभएको अवस्थामा संसदको पहिलो बैठकमा जेष्ठ सदस्यको नाताले सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...