Friday 20th March 2026

दक्षिण एशियाकै दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै


तितोपाटी – कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ ।

पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चँुडिएका छन् ।

महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताउनुभयो । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको उहाले बताउनुभयो । पुलका नटबोल्ट र रड खसेका छन् भने जाली च्यातिएका छन् ।

पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताउनुभयो ।

महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले मिलेर तत्कालै पुलको मर्मत गर्नुपर्ने उहाँको भनाइ रहेको छ । “कति बेला दुर्घटना हुन्छ, कस्को ज्यान लिने गरी पुल भाँच्चिने हो कुन्नि थाहा छैन” उपाध्यायले भन्नुभयो । पुलको तेस्रो टावर नजिक पुल पूर्णरुपमा भाँचिने अवस्थामा रहेको हुँदा सरकारले प्राविधिक बोलाएर मर्मत सम्भार गर्न लाग्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन् ।

महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस (हालको महाकाली नगरपालिका) का स्थानीयबासी १३ वर्ष अघि सदरमुकाम आउजाउ गर्न भारतीय बाटो वनबासाको प्रयोग गर्थे ।

भीमदत्त नगरपालिकाको वडा नं १३ र महाकाली नगरपालिका–४ मा पर्ने महाकाली नदीमा विसं २०६१ मा रु नौ करोड ४२ लाख बराबरको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरेका थिए । पुल पर्यटकको आकर्षणका रुपमा समेत रहेको छ ।

“महाकालीमा पक्की पुल निर्माण नहुञ्जेल हामीले झोलुंगे पुलको संरक्षण गर्न आवश्यक छ”, स्थानीय गगन सिंहले भन्नुभयो ।

सम्बन्धित निकायको चरम लापर्बाहीका कारण दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल मर्मतको अभावमा चुँडिने अवस्थामा पुगेको उहाँको भनाइ रहेको छ ।

सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको बुझाइ रहेको छ ।

दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन् ।

पुल बनेपछि जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ । रासस


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...