Thursday 25th September 2025

सडकको माग गर्दै ७८ वर्षिय बृद्ध अनसनमा


तितोपाटी – गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बसेका छन् । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसेका हुन् ।

गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ । विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यतिबेला सर्वे भएका अरु ठाउँमा सडक पुगे पनि आफ्नो गाउँमा सडक नपुग्दा अनशन बसेको उनले भने ।

“सडकका लागि विनियोजन भएको रकम अन्यत्रै रकमान्तरण गरिन लागेको सुन्नमा आएकाले अनशन बसेको हुँ”, उनले भने । उता गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्न रु १४ लाख ५० हजार विनियोजन गरिएको र स्थानीयले जग्गा दिन नमानेपछि सडक खन्न शुरु नभएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनप्रसाद भट्टले बताउँछन् ।

रकम विनियोजन भएको १० महिना बितिसकेको र पटकपटक जग्गावालासँग छलफल गर्दासमेत उनीहरु सडक खन्न सहमत नभएका कारण सडक निर्माण कार्य अगाडि बढ्न नसकेको हो, उनले भने, “अझै पनि जग्गावाला जग्गा दिन सहमत भएमा सडक निर्माण कार्य अगाडि बढाइनेछ ।” यता अनशनरत वृद्धले भने सडक निर्माण कार्य शुरु नहुँदासम्म अनशन जारी राख्ने बताए ।

राजमार्ग भत्काएर सडक बनाउँदा समस्या

यसैबीच, स्थानीय तहले मनलाग्दी हिसाबले शाखा सडक निर्माण गर्न थालेपछि राष्ट्रिय राजमार्गमा समस्या देखिएको डिभिजन सडक कार्यालय, पाटन बैतडीले जनाएको छ ।

अहिले सबै ठाउँमा राष्ट्रिय राजमार्गलाई जोडेर शाखा सडकको ट्रयाक खोल्ने कार्य भइरहेको र धेरै ठाउँमा सडक नै जोखिममा पार्ने गरेर शाखा सडक निर्माण भइरहेको डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिकाले सिल्लेगडा–काँडा–सुनखोला–कपडा सडक निर्माण गर्दा महाकाली राजमार्गको केही भाग भत्काएर ट्रयाक खोलेको उनले आरोप लगाए ।

यो विषयमा गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने आफूहरुले सडकलाई क्षति पुर्‍याउने नियतले सडक निर्माण नगरेको तर ट्रयाक खोल्दा केही प्राविधिक समस्या भएको हुनसक्ने बताए । आफूहरुले वाल लगाएर सडकमा पुगेको क्षतिलाई कम गर्ने दाबी पनि गरे ।

सार्वजनिक सडक ऐन २०३१ ले राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, सडक भत्काएर निर्माण गर्नुपरे धरौटी राखेर मात्रै निर्माण गर्नुपर्ने भएपनि बैतडीमा मनोमानी हिसाबले सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले भने, “बिना स्टमेट बनेका सडकले भोलिका दिनमा समस्या निम्त्याउनेछ” यसरी राजमार्ग नै क्षति गरेर शाखा सडकले राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । बैतडीका अधिकांश स्थानीय तहहरुले सडकलाई प्राथमिकतामा राखेर ग्रामीण सडक निर्माण गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...