Thursday 8th January 2026

पाकिस्तानमा पुर्वप्रधानन्यायधिश कार्यवाहक प्रधानमन्त्री नियुक्त


तितोपाटी डट कम – पाकिस्तानमा पूर्व प्रधानन्यायाधीश नसीरुल मुल्क सोमबार कार्यवाहक प्रधानमन्त्री मनोनयन भएका छन् । निर्वाचन सम्पन्न गर्न उनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

उनको कार्यकाल दुई महिनाको हुनेछ । मुल्क प्रधानमन्त्री हुने भएपछि सत्तारुढ दल र विपक्षीबीचको विवाद समाप्त भएको छ । विपक्षी दलहरूले सत्तारुढ पीएमएल-एन (पीएमएल-एन)ले शक्ति दुरुपयोग गर्ने आशंका गर्दै आएका थिए । पाकिस्तानमा २५ जुलाईमा निर्वाचन हुँदै छ ।

मुल्कको नाम प्रधानमन्त्रीमा घोषणा भएसँगै पाकिस्तान पीपल्स पार्टी (पीपीपी)का नेता खुर्शीद शाहले प्रसन्नता व्यक्त गरेका छन् । यसअघि उनले प्रधानमन्त्री शाहिद खाकान अब्बासी र नेशनल असेम्बलीका सभामुख अयाज सादिकसँग बैठक गरेका थिए । ६७ वर्षीय मुल्कले पाकिस्तानमा स्वतन्त्र, निष्पक्ष र पक्षपात नगरी सफलतापूर्वक चुनाव गराउने शाहले बताएका छन् ।

सत्तारुढ पीएमएल-एन र विपक्ष पीपीपीबीच कार्यवाहक प्रधानमन्त्रीको नामलाई लिएर लामो समयसम्म गतिरोध भएको थियो । प्रधानमन्त्रीको नाममा सहमति बनाउन सरकार र विपक्षबीच ६ पटक बैठक बसेको थियो । अब्बासीले भने, ‘कार्यवाहक प्रधानमन्त्रीका रूपमा मुल्कको भूमिका देश र लोकतान्त्रिक प्रक्रियाको पक्षमा हुनेछ ।’ विपक्षी नेता शाहले मुल्कको नाम घोषणा गर्दै नेशनल असेम्बलीका सभामुखले विपक्षी र सरकारलाई सम्झौतामा पुग्न महत्वपूर्ण भूमिका खेलेको जानकारी दिएका छन् ।

पीपीपीका वरिष्ठ नेता शाहले भने, ‘हामीले लोकतान्त्रिक निर्णय गरेका गरेका छौं । म प्रधानमन्त्री र सभामुख दुवैलाई धन्यवाद दिन्छु । उहाँहरूले धैर्यका साथ जनभावनाको सम्मान गर्नुभएको छ । मैले नाम लिन चाहेका व्यक्ति निकै सम्मानीय हुनुहुन्छ । उहाँ प्रधानन्यायाधीशबाट सेवानिवृत्त नसीरुल मुल्क हुनुहुन्छ । कानुनव्यवसायी हुँदा पनि उहाँले ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो।’

पाकिस्तानमा कार्यवाहक प्रधानमन्त्रीको काम संसद भंग गर्ने र निर्वाचनबाट आएको नयाँ सरकारलाई शपथ ग्रहण गराउने हुन्छ । बीचको उक्त अवधिमा उनको शासनकाल रहन्छ । खैबर पख्तुनख्वा प्रान्तको स्वात, मिंगोरामा मुल्कको जन्म भएको थियो । सन् १९५० मा जन्मिएका मुल्कले शुरुमा वकीलका रूपमा काम गरेका थिए ।

केही समय न्यायाधीशमा काम गरेपछि सन् २०१४ मा पाकिस्तानका २२ प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनी सन् २०१३ को नोभेम्बरदेखि २०१४ को जुलाईसम्म कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भएका थिए ।

राष्ट्रपति ममनून हुसैनले शनिबार आमनिर्वाचन र प्रान्तीय चुनाव जुलाई २२ मा गर्ने प्रस्तावमा मञ्जुरी दिएका थिए । सत्तारुढ दलका निम्ति इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ प्रमुख चुनौती हुने अनुमान छ ।

७० वर्षयता पाकिस्तानमा पहिलोपटक सन् २०१३ मा लोकतान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण भएको थियो । त्यतिखेर पाकिस्तान पीपल्स पार्टीले निर्वाचन जितेर आएको पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन)लाई सत्ता हस्तान्तरण गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

नयाँ अनुसन्धान अनुसार अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर लगभग १३ वर्षमा सयौं हिमनदी भूकम्पले हल्लाएको छ। डूम्सडे ग्लेशियरको रूपमा पनि चिनिन्छ, यो…

प्रतिकृयाहरू
...