Thursday 19th March 2026

भ्रमण भिसा : एक हजार पाँच सय मध्य दुई सय ४६ नक्कली


तितोपाटी- भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाई मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ। यसरी मिलेमतोमा बिदेसिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन्।

शंकास्पद कागजातसहित गत असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो। सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेको समेत पाइएको छ।

त्यसरी अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँ दिएर मिलेमतोमा मिलाई पठाउने देखिएको पाइएको पनि उनले बताए।

सोही आधारमा मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई विभिन्न मितिमा पक्राउ गरी संगठित अपराध, लिखतसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाही थालिएको छ।

सोही अध्ययनका आधारमा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसँग मिलेमतोमा नक्कली कागजातका आधारमा विदेश पठाउने र विदेश पुगेपछि महिलालाई घरेलु कामदारका रूपमा लगाइने र शोषणसमेत हुने तथा पुरुषले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाइने गरेको पाइएको छ।

त्यसरी गएकालाई पछि स्वदेशमा फर्काउनसमेत कठिनाइ हुने गरेको प्रहरी निष्कर्ष छ। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न भएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई पक्राउ गरी अनुसन्धान गर्दा उनले यसरी मिलेमतोमा तीन सय जना पठाएको पाइएको छ।

यस्तै निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र निजकै ट्राभल्समा काम गर्ने उनकै सालो पदम लामालाई पक्राउ गरी लिखितसम्बन्धी कसुरसमेतका अपराधमा प्रहरीपरिसर टेकुले अनुसन्धान गरिरहेको छ।

सोही कार्यमा संलग्न रहेका आधारमा नेपाल एयरलाइन्सका अरविन्द यादव, होम पोखरेल, ट्राभल्स एजेन्सीका मनुराम चौधरी, स्काई ट्राभल्स एन्ड टुरका दिनेश ज्ञवाली, रोयल ट्राभल्सका सञ्चालक देवराज खनालसहित गणेश पाण्डे, सञ्जय तामाङ, रामप्रसाद भण्डारी सरोजकुमार यादव, राजकिशोर शाह, रविन अर्याललगायतलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ। -रासस


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...