Tuesday 7th April 2026

धनुषामा १० वर्षीया बालिकाको छिमेकीद्वारा बलात्कार पछि हत्या


तितोपाटी – धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् ।

उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो । मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन् ।

शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य शुरु गरिएको थियो ।

स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ ।

आरोपितले मनिकालाई गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभन देखाएको प्रारम्भिक अनुसन्धानमा थाहा भएको प्रहरीले बताएको छ । बलात्कारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बलात्कारकै क्रममा ‘बालिकाको मृत्यु भएको थियो,’ प्रहरी उपरीक्षक थपलियाले भने, ‘बालिकाको मृत्यु भएपछि पहिला धान खेतमा गाडेका थिए । पछि बाँच्ने डरले पुन: मुख माटोमा काेचेर गाडेका थिए ।’

प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोपित दुवैले बलात्कार गरेको स्वीकारेका थिए ।आरोपित दुवैजनालाई कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दा चलाइएको छ ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...