Sunday 2nd August 2026

नेपालले चीनलार्इ १० विकेटले हरायो, नेपालको लगातार पाँचाैं जीत


तितोपाटी – चीनलाई १० विकेटले पराजित गर्दै नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार पाँचौं खेलमा पनि जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको पाँचौं खेलमा चीनले प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विना विकेट भेट्टायो। नेपालका लागि ओपनर विनोद भण्डारीले २४ र प्रदिप ऐरीले ४ रनको नटआउट पारी खेले। विनोदले ८ बलमा ३ चौंका र १ छक्का प्रहार गरे।

यसअघि वायुमस ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनाएको थियो। चीनका लागि ओपनिङ ब्याट्सम्यान होङ जियाङ यानले सर्वाधिक ११ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्। चीनलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए।

नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गरेका हुन्। नेपालले यसअघि नै अघिल्लो चरणमा स्थान पक्का गरिसकेको छ। यता चीन भने आफूले खेलेका सबै खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपाल समूहको शीर्ष स्थानमा रहँदा चीन भने पुछारमा छ। नेपालसँगै सिंगापुरले पनि दोस्रो चरणमा स्थान पक्का गरेको छ।

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान बनाउनेमा नेपाल र सिंगापुर छनोट भएसँगै मलेसिया र थाइल्यान्डमध्ये एक टोलीको छनोट सम्भावना जीवित  छ। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले हराएको थियो भने तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले निराश पारेको थियो। त्यस्तै मंगलबार भएको चौंथो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो। लगातर ४ जितपछि समान ८ अंक जोडेका नेपाल  र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान ५ अंक जोडेका आयोजक मलेसिया र थाइल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने समान २ अंक जोडेका भुटान र म्यानमार चौथो र पाँचाैं स्थानमा छन्। अंकविहीन चीन अन्तिम स्थानमा छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...