Thursday 5th March 2026

खोटाङमा ६६ वर्षीया हजुरअामा पनि नातिनातिना सँग विद्यालय जाँदै


तितोपाटी – शैक्षिक सत्रको सुरुमा ६६ वर्षीय कृष्णकुमारी गजमेर कक्षा १ मा भर्ना गरिदिनु प-यो भन्दै विद्यालय पुग्दा सिद्धेश्वरी माविका प्रधानाध्यापक र शिक्षकले पत्याएनन्। छोरीतर्फक नातिनातिनीसहित विद्यालयमा भर्ना हुन पुगेकी कृष्णकुमारीले ठट्टा गरेको ठानेर सुरुमा उनको भर्ना गरिएन। वैसाख २ गते उनका दुई नाति र एक नातिनीको मात्र भर्ना भयो। तर, कापी र डटपेन बोकेर नातिनातिनीसँगै नियमित विद्यालय जान थालेपछि मात्र विद्यालयले कृष्णकुमारीको इच्छा बुझ्यो। पढ्ने लगाव देखेपछि बल्ल असार ५ गते उनलाई कक्षा १ मा भर्ना गरिएको प्रधानाध्यापक बिन्दा थापा बताउँछिन्। ‘पहिला त बुढी मान्छे नातिनातिनी लिएर विद्यालयमा भर्ना हुन आउनुभयो। मेरो पनि भर्ना गरिदिन प-यो भन्नु भयो। हामीले नपत्याएर बुढी मान्छे ठट्टा गर्छिन् भन्दै फिर्ता पठायौं,’ प्रधानाध्यापक थापाले भनिन्, ‘तर नातिनातिनीसँगै नियमित विद्यालय आउन थालेपछि मात्र कृष्णकुमारीलाई भर्ना गरेका हौं।’

हलेसी तुवाचुङ नगरपालिका–१०, अर्खौलेकी बासिन्दा कृष्णकुमारी अहिले जेठी छोरी यामकुमारी र ज्वाइँ कृष्णबहादुर विक लोहारसँग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलमा बस्दै आएकी छन्। २००९ सालमा जन्मिएकी उनले उमेरमा रहर भएर पनि पढ्न नपाएको बताइन् । त्यही पढ्ने रहर पूरा गर्न उनी बुढेसकालमा नातिनातिनीसँगै स्कुल जान थालेकी हुन् । बुढेसकालमा विद्यालय भर्ना भएर उनले पढाइलाई उमेरले छेक्दो रहेन्छ भन्ने उदाहरण देखाएकी छिन् उनले । उनी हरेक दिन बिहान नाति रमेश, रविन र नातिनी रोमिशालाई डो¥याउँदै विद्यालय पुग्छिन् र बेलुका त्यसैगरी घर फर्कन्छिन् । रविन र रोमिशा जुम्ल्याहा हुन्। नाती नातिनीसँगै विद्यालय जान थालेकी कृष्णकुमारीले ‘क–खु, ए–बी–सी–डी, आकार–उकार छिचोलिसकेकी छिन्। डटेपनसमेत राम्ररी समात्न नजान्ने कृष्णकुमारीलाई सुरुमा बालविकास केन्द्रमा राखिएको थियो । पढाइमा मेलो लागेपछि मात्र उनलाई कक्षा १ मा राखिएको कक्षा शिक्षिका मुना केसी थापाले बताइन् । ‘सुरुमा राम्ररी डटपेन समाउनसमेत आउँदैनथ्यो,’ शिक्षिका मुनाले भनिन्, ‘अहिले भनेको कुरा लेख्न र पढ्न सक्ने अवस्था छ।’

कृष्णकुमारीका दुई छोरी र एक छोरा विवाह गरेर आअफ्नो इलममा लागे । छोराबुहारी हेटौंडा बस्छन् । कान्छी छोरी विदेश पुगेकी छिन् । आठ वर्षअघि श्रीमान बुद्धिमानको मृत्यु भएपछि उनी एक्ली भइन्। गाउँमा एक्ली भएपछि उनलाई जेठी छोरीज्वाइँले आफूसँगै लगेर राखेका हुन् । उनका तीन छोरामध्ये तीन महिनाको अवधिमा दुईटा बिते। श्रीमान पनि बितेपछि पीडाको खात चुलिँदै गयो । उनी बस्दै आएको घर पनि २०७२ सालको भूकम्पले भत्काइदियो। कृष्णकुमारीको स्कुले जीवन जीन्दगीका पीडा भुल्ने माध्यम पनि बनेको छ । पीडा भुल्ने र साक्षर हुने रहरमै उनी विद्यालय भर्ना हुन आएको प्रधानाध्यापक थापा बताउँछिन् । ‘पिर भो, स्कुलमा घुलमिल हुन्छु, पढ्ने रहर पनि छ, मनमा शान्ति मिल्छ,’ कृष्णकुमारीलाई उद्धृत गर्दै प्रधानाध्यापक थापाले भनिन्, ‘पढ्ने रहर छ भने हुन्छ त भनेर भर्ना गरिदिएका हौं । अहिले उहाँ हाम्रो ज्येष्ठ छात्रा पनि हुनुहुन्छ।’

शिक्षक/शिक्षिकाका अनुसार विद्यालयका सुरुसुरुका दिनमा निराश जस्तो देखिने उनी अहिले कलिला बालबालिकासँग घुलमिलपछि हँसिली देखिन्छिन् । जोसका साथ लेखपढमा पनि ध्यान दिन्छिन्। लेखपढ गर्न जान्ने भएर फरर्र पुस्तक पढ्ने, मोबाइल चलाउने, सामान्य हरहिसाब आफैं गर्न सक्ने कृष्णकुमारीको धोको छ। सुरुमा कक्षामा कलिला बालबालिकासँग घुलमिल हुन अप्ठेरो पनि भयो उनलाई । तर, दिन बित्दै जाँदा नातिनातिनी उमेरका बालबालिका नै नजिकका साथी भएको कृष्णकुमारी बताउँछिन्। ‘पढ्ने रहर भयो। जान्ने भएर नातिनातिनीलाई सिकाउँछु । पाए जागिर पनि खान्छु,’ उनले भनिन्, ‘कखरा सकें, एबिसिडी सकें, आकार–उकार पनि सबै आउँछ । स्कुल जान थालेपछि पिरमर्का भुलें । यो मनलाई शान्ति पनि मिलेको छ।’


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...