Saturday 4th April 2026

झापामा एउटै इनारको पानीको भरमा ५० घर परिवार


तितोपाटी – समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला ।

दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताए ।

टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिवासी समुदाय गनगाई रहेका छन् । उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन् ।

त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि ट्युबवेल गाड्न नखोजिएको होइन । सय फिट गहिरो खन्दासमेत पिउनयोग्य पानी ननिस्किएपछि इनारको विकल्प नभएको स्थानीयवासी श्यामनारायण गनगाई बताउँछन् ।

यहाँको ट्युबवेलबाट आउने पानीमा अत्यधिक आर्सेनिक पाइने भएकाले पिउनयोग्य मानिएको छैन । “सय फिट ट्युबवेल गाड्दा पनि राम्रो पानी नआएपछि इनारको विकल्प रहेन”, श्यामनारायण भन्छन्,“पानीको समस्याका कारण बस्ती नै छाड्ने बाध्यता आइसक्यो ।”

स्थानीय हुलाक कार्यालयका कर्मचारीसमेत रहेका गोपालप्रसाद गनगाई सो इनारको निर्माण विसं २०२८ तिर भएको बताउँछन् । भन्छन्, “हाम्रा हजुरबुबाले पनि सोही इनारको पानी खाएका थिए ।”

सो वडाका वडाध्यक्ष विजयसिंह गनगाईले टोलमा पानीको चर्को समस्याबारे यसअघिका जनप्रतिनिधि जानकार भए पनि अहिलेसम्म कुनै समाधान ननिकालेको तर अब आफूहरु शुद्ध पानीको स्रोत खोज्नमा लागिसकेको बताउँछन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...