Tuesday 23rd September 2025

झापामा एउटै इनारको पानीको भरमा ५० घर परिवार


तितोपाटी – समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला ।

दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताए ।

टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिवासी समुदाय गनगाई रहेका छन् । उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन् ।

त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि ट्युबवेल गाड्न नखोजिएको होइन । सय फिट गहिरो खन्दासमेत पिउनयोग्य पानी ननिस्किएपछि इनारको विकल्प नभएको स्थानीयवासी श्यामनारायण गनगाई बताउँछन् ।

यहाँको ट्युबवेलबाट आउने पानीमा अत्यधिक आर्सेनिक पाइने भएकाले पिउनयोग्य मानिएको छैन । “सय फिट ट्युबवेल गाड्दा पनि राम्रो पानी नआएपछि इनारको विकल्प रहेन”, श्यामनारायण भन्छन्,“पानीको समस्याका कारण बस्ती नै छाड्ने बाध्यता आइसक्यो ।”

स्थानीय हुलाक कार्यालयका कर्मचारीसमेत रहेका गोपालप्रसाद गनगाई सो इनारको निर्माण विसं २०२८ तिर भएको बताउँछन् । भन्छन्, “हाम्रा हजुरबुबाले पनि सोही इनारको पानी खाएका थिए ।”

सो वडाका वडाध्यक्ष विजयसिंह गनगाईले टोलमा पानीको चर्को समस्याबारे यसअघिका जनप्रतिनिधि जानकार भए पनि अहिलेसम्म कुनै समाधान ननिकालेको तर अब आफूहरु शुद्ध पानीको स्रोत खोज्नमा लागिसकेको बताउँछन् ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...