Thursday 5th March 2026

घरमुली नै १७ वर्षदेखि अोछ्यानमा थला परेपछि परिवारको बिचल्ली


तितोपाटी – काभ्रे मण्डनदेउपुर नगरपालिका–१० स्थित कान्तिटारका ४७ वर्षीय राजेन्द्र नेपाल ‘राजु’ ओछ्यान परेको १७ वर्ष भयो । दैनिक रोजीरोटी जुटाउने मूल व्यक्ति नै थला परेपछि परिवारको बिचल्ली भएको छ । २०५८ वैशाख ११ मा घरभन्दा पारि रहेको बडहरे बेंसी गएर फर्किने क्रममा उनी भीरबाट लडेका थिए ।

भीरबाट लडेर ढाडमा स्पाइनल कड इन्जुरी भएपछि १७ वर्षदेखि ओछ्यान परेका काभ्रे मण्डनदेउपुर नगरपालिका–१० स्थित कान्तिटारका राजेन्द्र नेपाल ‘राजु’ । तस्बिर : विमल
सुरुमा उपचारका लागि धुलिखेल अस्पताल लगियो । त्यहाँ नभएपछि वीर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो ।

त्यहाँ पनि उपचार सम्भव भएन । ‘मोडल अस्पताल लग्दा केही होला भन्ने आस थियो,’ राजेन्द्रले भने, ‘त्यहाँ लगेपछि उपचार नहुने पत्तो पाइयो, चिकित्सकले ढाडमा स्पाइनल कड इन्जुरी भएको जानकारी दिए, त्यसपछि उपचार हुने आस मर्‍यो ।’ उपचार नहुने भएपछि उनी परिवारसँगै घर फर्किए । पछि फेरि परिवारको सल्लाहअनुसार सहारा केयर होम पुगे । त्यहाँ ३ महिना बसे । केही नभएपछि उनी त्यसपछि कतै उपचारका लागि जान मानेनन् ।

२०७२ को भूकम्पमा घर भत्कियो । घर भत्किएपछि बासस्थानमा समस्या भयो । केही समस्या परे उपचार गर्न अस्पताल नजिक हुने भन्दै उनी परिवारसँग काठमाडौं आए । अहिले काठमाडौंको पेप्सीकोलामा कोठा लिएर बसोबास गर्दै आएका छन् । रेखदेख श्रीमती मायाले गर्छिन् । घाँटीभन्दा तलका शरीरका अंग चल्दैनन् । खुवाउनेदेखि दिसापिसाब गराउनेसम्मको काम श्रीमती एक्लैले गर्दै आएकी छन् । उनका अनुसार उपचारमा करिब १२ लाख लाग्यो । तर उनी तन्दुरुस्त भएनन् । रेखदेखमा दैनिक एउटा व्यक्ति अनिवार्य खटिनुपर्छ । पारिवारिक अवस्था न्यून छ । उनका एक छोरा र छोरी छन् ।

छोरीको बिहे भइसकेको छ । छोरा विशाल २३ वर्षका भए । उनी रोगी छन् । दुवै मृर्गौला फेल भएपछि उनकै ठूली आमा शोभाले दिइन् । मिर्गौला प्रत्यारोपण गर्ने रकम नहुँदा गाउँले, आफन्तले सहयोग जुटाए । उपचारमा करिब १० लाख खर्च भयो । सरकारमार्फत ४ लाख छुट भएको आमा मायाले बताइन् । मिर्गौला २०७४ भदौ २५ मा प्रत्यारोपण गरिएको हो ।

‘आम्दानीको स्रोत केही छैन,’ मायाले भनिन्, ‘बूढा थलिएका छन्, छोरो रोगी छ, छोराको औषधि महँगो छ, अहिलेसम्म जसोतसो धानेका छौं, अब छोरालाई कसरी बचाउने भन्ने चिन्ता छ ।’ उनका अनुसार औषधिमा मात्र मासिक १६ हजार खर्च हुन्छ । उपचारका क्रममा जुटेको रकमबाट अहिलेसम्म औषधि खुवाउन सहज थियो । अब औषधि किन्ने पैसा नभएको मायाले गुनासो गरिन् । ‘बाँचुन्जेल छोराले औषधि खानुपर्छ, के आम्दानीले उनलाई औषधि किन्ने ?’ उनले भनिन्, ‘कसैले सहयोग गरिदिएदेखि छोरा बाँच्ने थियो ।’

परिवारलाई खर्च धान्न समस्या छ । जग्गा बिक्री गरेर औषधि किन्ने खर्च जोहोमा परिवार लागिपरे । गाउँको जग्गा बिक्री भएन । राजेन्द्र विदेशीमार्फत पाएको मेडिकल बेडमा बस्ने गरेका छन् । उनको माग इच्छामृत्यु छ । ‘संविधानमा इच्छामृत्युलाई समेटियोस् भन्ने थियो, त्यो भएन,’ उनले भने ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...