Saturday 4th April 2026

भारतको कश्मीरमा सामुहिक बलात्कार पछि हत्या, साैतेनी अामा सहित ६ जना पक्राउ


तितोपाटी – भारतको कश्मीरमा एउटी नौ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा एक महिलासहित छ जना पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार ती बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीन जना अरूलाई आफ्नै अगाडि बलात्कार गर्न लगाएकी थिइन्। पीडित बालिकाको शव आइतवार भारतप्रशासित कश्मीरको बारामुल्ला जिल्लास्थित एउटा जङ्गलमा भेटिएको थियो।

उनलाई यातना दिइएको र शरीरमा तेजाब खन्याइएको अधिकारीहरूले बताए। ती बालिका १० दिनदेखि हराइरहेकी थिइन्।

आफ्ना पतिले छोरीलाई धेरै माया गरेकामा ती अभियुक्त महिला असन्तुष्ट रहने गरेको बताइएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्‌धृत गर्दै एनडीटीभीको वेबइटमा प्रकाशित समाचारमा ती महिला “सौतेनी डाह” बाट ग्रसित थिइन्। त्यसैले उनले आफ्नी सौता र र तिनका छोराछोरीसँग वैमनश्यता राखेको देखिएको ती अधिकारीले बताए।

ती अधिकारीका अनुसार सामूहिक बलात्कारपछि ती बालिकाको बन्चरो प्रहार गरेर हत्या गरिएको थियो। आरोपितमध्येका एक १९ वर्षीय युवकले उनको शरीर छिन्नभिन्न पारेका थिए।

भारतप्रशासित कश्मीरमा केही महिनाभित्रै बालिकाको सामूहिक बलात्कार र हत्या भएको यो दोस्रो घटना हो।

गत एप्रिल महिनामा कठुआ जिल्लामा एउटी आठ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो। सो घटनामा आरोपित भएकाहरूको समर्थनमा निकालिएको एउटा जुलुसमा सत्तारूढ भारतीय जनता पार्टीका दुई मन्त्रीहरू सहभागी भएपछि भारतभरि आक्रोश व्यक्त भएको थियो।

सन् २०१२ मा दिल्लीमा २३ वर्षीया युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटनायता भारतमा यौनहिंसामाथि निगरानी राख्न थालिएको छ। त्यसपछि भारतमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पनि बन्यो। तर महिला र बालबालिकासँगको दुर्व्यवहार भने रोकिएको छैन।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...