Thursday 28th March 2024

अपराधका घटनामा न्यूनीकरण भएको छ – प्रहरी महानिरिक्षक


तितोपाटी – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा अपराधका घटनामा कमी आएको र नेपाल प्रहरी मजबुत हुँदै गएको बताएका छन् । समाजमा हुने बलात्कार लगायतका केसलाई लिएर प्रहरीमाथि दोष लगाउन नमिल्ने खनालको तर्क छ । कुनै व्यक्ति दोषी हो कि होइन भन्ने विषयमा प्रहरीले नै अनुसन्धान गर्ने बताउँदै महानिरीक्षक खनालले भने ‘बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?’ कञ्चनपुर घटनाको प्रशंगमा कुरा गर्दा आइजीपी खनालले मानसिक रोगीले कुनै अपराध गर्न सक्दैन भनेर अनुमान लगाउन नमिल्ने बताए । ‘प्रहरीले गर्ने अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन’, आईजीपी खनालले भने, ‘अहिले प्रहरीले गर्ने अनुसन्धानमा शंकास्पद मान्छेको स्टेटमेन्ट नै लिइएन भने कोसँग जाने त ?’ आइजीपी खनालले एआईजीहरुको बढुवामा ढिलाइ नभएको बताए । उनले कुनै पनि प्रहरीको प्रमोशन नेतालाई भेटेका आधारमा नभएर उसको कार्यक्षमताका आधारमा गरिने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको अन्तर्वार्ताः

अहिले प्रहरी संगठन कमजोर हुँदै गएको हो ?

विल्कुलै होइन । धेरै मजबुद भएर गएको छ । पहिले भएका कमजोरीहरु पनि सबै ट्रयाकमा आएका छन् । यसको अनुभूति नै भएको छ नि । तर, सामाजिक रुपमा भएका घटनाहरुलाई लिएर मानिसहरुले प्रश्नहरु उठाएको हुन सक्छ ।

तर, अपराध अनुसन्धानमा प्रहरीको लापरवाही देखिन थाल्यो भन्ने गुनासाहरु आएका छन्, यस्तो किन भएको ?

प्रहरीले गर्ने अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन । कसैले गर्न जरुरी पनि छैन । अहिले प्रहरीले गर्ने अनुसन्धानमा कसैलाई आएका सबुद प्रमाणका आधारमा हेर्दै गरेर जाने हो । कोही मान्छे शंकास्पद छ र स्टेट्मेन्ट नै लिइएन भने कोसँग जाने त ? स्टेटमेन्टका आधारहरु पनि भेरिभाई गर्नुपर्ने हुन्छ । तर, यो अपराधी होइन, यो चाहिँ हो भन्न त अरुको कसरी अधिकार होला र फेरि ? बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?

कञ्चनपुरको हकमा प्रहरीले गरेको अनुसन्धानमा सीआइबीको टोली पनि टाइममै गएको छ । त्यसलाई एकदमै उच्च प्राथमिकता दिएरै हेरेको छ ।

कुनै प्रहरीले कहीँकतै गडबडी गरेको भए स्पष्टरुपमा ठाउँको ठाउँ कारवाही हुन्छ । यसमा नेपाल प्रहरी संगठनको कमजोरी छ भन्ने मलाई लाग्दैन ।

कञ्चनपुरको केसमा प्रहरीले आलोचित हुनुपर्‍यो नि, हैन ? यद्यपि, सरकारले एसपीलाई निलम्बन गरिसक्यो । तपाईहरुले डीएसपी र इन्स्पेक्टरलाई हेडक्वार्टरमा तानिसक्नुभएको छ….

बलात्कारको कुरामा रौतहटमा त्यस्तै खालको (मानसिक सन्तुलन गुमाएको) मान्छेले तीन पटकसम्म सिरियल रेप गरेको छ । घटनाले देखाउँछ । बारामा त्यस्तै भयो । मगज अलि डिस्अर्डर टाइपको मान्छेले बलात्कार गरेको घटना आयो । त्यसर्थ यसले गर्छ र यस्तो भन्ने कुराको अनुमान गर्नुभन्दा पनि कसले गर्‍यो, त्यो कुरामा जान जरुरी छ ।

यस्तो कुरामा कसैले पुलिसले लुकाएर भन्ने एक प्रतिशत पनि तथ्य मचाहिँ मान्दिनँ । तल्लो लेभलमा भएका रहेछन् भने नचाहिने काम गर्नेलाई कारवाही हुन्छ । नभए पनि अर्को कुरा त खुल्न आउँछ आउँछ नि । व्यक्तिगतरुपमा त्यस्तो होला, तर संगठनले त अपराधीसँग सम्झौता गर्ने कुरा काहीँ पनि छैन ।

कतिपय अपराधीहरु कस्ता हुन्छन् भने दुनियाँका अन्य मुलुकहरुमा पनि यस्ता धेरै केसहरु रहेका हुन्छन् । एकैचोटि सबै खुल्दैनन्, कतिपय कम्प्लेक्स पनि हुन्छ कतिपय कुराहरु । जम्मा दुईजना हुन्छन्, त्यसमध्ये एउटाले होइन भनेपछि अर्को को हो त ? हो कि हैन भन्नेकुरा आजकल यातना दिएर गर्न हुन्न । टाइम कुर्नैपर्छ ।

हामीलाई अनुसन्धान गर्न कानूनले हामीलाई समय पनि दिएको छ नि, त्यो टाइम त हामीलाई दिनुपर्‍यो नि ।

यस्ता घटनाहरु पहिले पनि भएका छन् । कतिपय केसहरु १२/१४ वर्षपछि पत्ता लागेका केसहरु पनि छन् । कति त्यत्तिकै होलान् । तपाईले अमेरिकामा पनि देखिरहनुभएको छ नि । हिजोमात्रै त्यत्रो फायरिङ भयो अमेरिकामा ।

मतलव, नेपालमा अस्वाभाविक रुपमा अपराध बढेको होइन ?

अहिले म कुनै घटना भएको देख्दिनँ । यो भन्दा हुन्छ ।

कसैलाई घरमा भएको बाबुले बलात्कार गरेको छ । काकाले गरेको छ । छिमेकीले गरेको छ । स्कुलको शिक्षकले गरेको छ । यो प्रहरीको दोष हुन सक्छ ? तर, यसमा अनुसन्धान गरेर मान्छेहरु पक्राउ भएका छन् । हामीले पक्राउ गरेर कानूनको दायरामा ल्याएका छौं ।

अहिले यस्ता घटनामा कहीँ पनि मिलापत्र हुँदैन । उजुरी दर्ता गरेर जानुपर्छ भन्ने कडा म्यासेज हामीले दिएका छौं । त्यो म्यासेज अनुसार मुद्दाहरु दर्ता हुने क्रम पनि बढेको छ ।

पहिलेजस्तो गाउँमा दुई/चारजना बसेर यसो मिलापत्र गरौं भन्ने सुनिन्थ्यो, अब मैले के भनेको छु भने यस्ता केसमा कुनै मोलाहिजा हुन्न, जसले गरेको हो, त्यो प्रहरीमा दर्ता भएर चल्नुपर्छ । अपराधीलाई कानूनको दायरामा ल्याउनुपर्छ । प्रहरी यसमा कडारुपमा लागेको छ ।

देशमा अपराध घट्दै छ कि बढ्दैछ त ?

यहाँले यस्सो हेर्दा गुण्डागर्दी देखिन्न । छ र ? छैन नि । तस्करी छैन सरकारले अहिले राजस्व बढेको छ भनेको छ । गुण्डागर्दी छैन । अरु मर्डर छैन । अरुखालका घटनाहरु छैनन् भनेपछि बढेको भन्ने त हामी काहीँ पनि देख्दैनौं नि ।

बलात्कारका घटना त बढिरहेका छन् नि ?

यो त सामाजिक संरचनाका कारणले पनि होला । केही पहुँचभन्दा बाहिरका कुराहरु छन् । कोही बाबुहरु नभएका, अभिभावकत्व नभएकाहरुसँग भएको छ ।

बलात्कारका केसहरु त पहिले पनि आएका थिए । तर, अहिले हामीले छोड्दैनौं । नछोडेपछि त मुद्दा दर्ता हुन आउँछ र डाटामा पनि देखिन्छ । तर, अपराधहरुमा कमी आएको छ । खाली कञ्चनपुर घटना, यस्ता खालका घटनाले त्यस्तो देखाएको हो ।

प्रहरीले ड्युटी राम्रैसित निभाइरहेको छ भन्दा हुन्छ ?

हामीले त निस्फिक्रीका साथ काम गरेका छौं । प्रहरीहरु सफल भएका छन् । विप्लवका त्यत्रा मान्छे पक्राउ परेका छन् । हामीले काम नगर्ने त कुरै छैन नि । त्यत्रो मान्छे पक्राउ गरेका छौं । प्रकाण्डदेखि लिएर १०/१२ जना पक्राउ गरिसक्यौं ।

अस्ति दुई/तीनपटक नेपाल बन्द गरे, कहाँ सफल भयो ? यो त प्रहरीकै हो नि त । कसले आएर गरेको हो ? मैले नै गरेको हो त भन्दिनँ  तर सर्वेन्द्रको नेतृत्व आएपछि भएको हो त भन्न पाइयो होला नि । काम गरेकोमा जस पनि त दिनुपर्‍यो नि ।

तपाईलाई माओवादीसँग नजिक भन्ने आरोप छ नि ?

त्यो कसैको व्यक्तिगत होला । प्रष्टै के हो भने मलाई नेपाल सरकारले आइजीपी बनाएको हो । राम्रो गर्नका लागि बनाएको हो, म राम्रो काममात्रै गर्छु ।

माओवादी नजिक भन्ने नै भएन नि, उहाँ गृहमन्त्री हो । हामीले काम गर्ने गृहमन्त्रीज्यूसँग हो । गृह मन्त्रालयसँग हो । त्यसपछि आएर नेपाल सरकार प्रधानमन्त्रीज्यूसँग हो ।

नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यूले गरेपछि हामी उहाँसँग टाढा भन्ने कुरै छैन नि । नेपाल सरकारले राम्रोका लागि बनाएको हो, म राम्रै गर्छु ।

मलाई प्रधानमन्त्रीज्यूले नै आइजीपी बनाउनुभएको हो । क्याबिनेटले नचाहेको भए म हुने कुरा हुन्छ र ?

एसपी, एसएसपीसमेत गृहमन्त्रीका घरघरमा धाउने थालेका हुन् ?

कतिपय भेटहरु बोलाएर गरिएका होलान् । मैले सिधै गृहमन्त्रीकहाँ नजानोस् भन्नु भन्दा पनि आफ्नो कार्यक्षमता प्रदर्शन गर्नोस्, त्यसैका आधारमा मूल्यांकन हुन्छ भनेको छु ।

अर्को कुरा के हो भने त्यहाँ गएकै भरमा प्रमोसन भएको छैन । जाने कुरा उहाँहरुको भयो, तर दौडिएका भरमा कसैको मूल्यांकन भएको छैन । क्षमताकै आधारमा सबैको मूल्यांकन हुन्छ ।

एआइजीहरुको बढुवामा ढिलाइ भइरहेको गुनासो प्रधानमन्त्रीले समेत गरेको सुनियो…..

दरबन्दी कति राख्ने भन्ने सुरुमा आएन । दरबन्दी आइसकेपछि कार्यसम्पादन मूल्यांकनलाई कुर्नै पर्ने थियो । त्यो बाध्यात्मक अवस्था हो ।

कार्यसम्पादन मूल्यांकन साउनदेखि सुरु हुन्छ । त्यो आएपछि मात्रै बढुवा गर्नुपर्ने भएकाले यस्तो भएको हो । यसमा हामीले न्यूनतम समय त कुर्नैपर्ने हुन्छ । तर, अहिले धेरै कुर्नुपरेको होइन ।

यो भन्दा पहिलेका बढुवाहरु धेरै रोकिएका थिए । तलका इन्स्पेक्टर, डीएसपीका सबै रोकिएका थिए ।

एआइजी त १६/१७ जना पहिल्यै भएका थिए । कति एआइजी राख्ने भन्ने टुंगो लागेको थिएन । कति एआइजी राख्ने भन्ने सरकारबाट निर्क्याैल भएर आइसकेपछि कार्यसम्पादनको समय कुर्ने क्रममा एकाध महिना लागेको हो । यो बाहेक ढिलो भएको छैन ।

योभन्दा पहिलेका आइजी साहेबहरुका पालामा त ७/८ महिनासम्म एआइजीको बढुवा रोकिएका थिए । खाली, अहिले हामीलाई देखाएर मात्रै पनि त भएन नि । पहिले बिग्रिएका बेथितिहरुलाई हामीले अहिले थितिमा ल्याउनुपरेको छ ।

प्राविधिकहरुको बढुवा पनि सबै रोकिएको थियो । डाक्टरहरुको, इञ्जिनियरहरुको, कम्प्युटर अपरेटरहरुको, सञ्चारका प्रमोसन रोकिएका थिए । निर्देशनालयहरुको प्रमोशन रोकिएको थियो । यो सबै गरियो । त्यसैले कामहरु त सबै भएका छन् । एआइजीको पनि त्यति (संख्या र कार्यसम्पादन) ले मात्रै हो ।

साभार –  अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...