Saturday 4th April 2026

म्याग्दीमा गरीबिको कारण विद्यालय अाउन नसकेको मार्मिक पत्र लेख्ने बालिकालार्इ सहयोग जुट्यो


तितोपाटी – चरम गरिबीका कारण आफू विद्यालयमा नियमित आउन नसक्ने पत्र प्रधानाध्यापकलाई लेखेकी म्याग्दीकी एक बालिकालाई सहयोगको ओइरो लागेको छ। बेनी नगरपालिका–६ फोओठेकी १२ वर्षीया पूजा खत्रीले वृद्ध हजुरबुबा तथा भाइबहिनीको रेखदेख र हातमुख जोड्न बिहानबेलुकी गाउँघरमा माग्न हिँड्नुपर्ने भएकाले विद्यालयमा चाहिँदो समय दिन नसक्ने भन्दै विद्यालयबाटै निष्कासन गर्ने पत्र लेखेकी थिइन्।

जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ मा विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानालाई रहर भए पनि बाध्यताले विद्यालयमा नियमित आउन सक्ने अवस्था नरहेकाले आफ्नो नाम कक्षाको रजिस्टरबाट हटाइदिन अनुरोध गरेको पत्र सञ्चारमाध्यममा छापिएपछि उनी चासोको विषय बनेकी थिइन्।

खर्च अभावकै बीच हजुरबुबा र भाइबहिनीको रेखदेखका लागि संघर्ष गरिरहेकी खत्रीलाई जन्मदिनका अवसरमा शुक्रबार कर्मचारी मिलन केन्द्र म्याग्दीले १५ हजार ५ सय रुपैयाँ, सौन्दर्य कला व्यवसायी संघले दर खाने कार्यक्रममा १३ हजार ८ सय ५० रुपैयाँसहित ब्ल्यांकेट र तन्ना, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रियका कोषाध्यक्ष राम खड्काले १० हजार रुपैयाँ, मोना एसिया प्यासिफिक संयोजक ददीवल खड्काले १० हजार रुपैयाँ, लायन्स क्लब बेनी पिस सिटीले १० हजार रुपैयाँबराबरको भाडाकुँडा सहयोग गरेका छन्।

आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित भएको खबर सार्वजनिक भएपछि स्वदेश तथा विदेशबाट खत्रीका नाममा गरिमा विकास बैंकमा खोलिएको खातामा शुक्रबारसम्म ८० हजार रुपैयाँ जम्मा भएको छ। सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको बेनपा–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए। ‘सहयोगको प्रतिबद्धता धेरै आएको छ, चारै भाइबहिनीलाई निःशुल्क शिक्षादीक्षाको प्रस्तावसमेत आएको छ,’ उनले भने । बालिका खत्रीले जिल्लाभित्रै पढ्ने चाहना व्यक्त गरेकी छिन्।

वडाध्यक्ष बानियाँले सहयोगको एक रुपैयाँ पनि दुरुपयोग हुन नदिन खत्रीका नाममा खाता खोलिएको बताए। म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा, कोष नियन्त्रक छविन्द्र बेलवासेलगायतको टोली खत्रीको घरमै पुगेर अवस्था बुझी फर्किएको थियो। ‘घरको अवस्था निकै नाजुक रहेछ, त्यहाँको अवस्थाले मन छोयो,’ उनले भने। उनले सरकारी निकायबाट समेत सहयोग गराउन सक्दो पहल गर्ने बताए। ‘अभिभावक नहुँदा परिवारलाई सम्हाल्ने उनको शक्तिलाई म सम्मान गर्छु,’ प्रजिअ अधिकारीले भने। संकलन भएको आर्थिक सहयोग जनप्रतिनिधि, सांसदको उपस्थितिमा सार्वजनिक गरिनेछ। वडाध्यक्ष बानियाँ, प्रधानाध्यापक ढुंगाना र पूजाको अनिवार्य हस्ताक्षर हुनेगरी खोलिएको खाताको रकम चलाउन प्रशासनले समेत अनुमति दिनुपर्नेछ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...