Wednesday 4th March 2026

भेरी नदी थुनिदा ३ वटा घर र ६ वटा कटेज बगायो


तितोपाटी – जाजरकोटको तल्लुबगर नजिक पहिरोले भेरी नदी थुनिँदा तीन घर र ६ वटा कटेज बगाएको छ । नलगाड–१२ तल्लुवगरका तीन घर र रुकुमको आठबिसकोट ४ गोतामकोटका ६ वटा कटेज नदी कटानले बगाएको स्थानीय मोहन बस्नेतले बताए ।

तल्लुबगर माथिको पहाडको ढिस्को खसेपछि ठूलीभेरी नदी केहीबेर थुनिएको थियो । नदी थुनिएपछि नदीले बाटो पहिल्याउन दुवै किनारातिर कटान गरेको बस्नेतले बताए । कटानका कारण नलगाड–१२ का भवीन्द्रबहादुर बस्नेत, ककबहादुर बस्नेत र टीकाराम खत्रीको घर बगाएको छ । घरभित्रको सामान निकाल्न नपाउँदै मंगलबार बिहान नदीले जाजरकोटतिरका तीन घर र रुकुमतर्फका ६ वटा कटेज बगाएको नलगाड नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर खत्रीले बताए । अर्का स्थानीय रामबहादुर बस्नेतको घर बग्ने अवस्थामा पुगेको छ भने २३ घर नदी कटानको उच्च जोखिममा रहेका वडाध्यक्ष खत्रीले बताए । नदीले घर बगाइदिएपछि घरवारविहीन भएका र उच्च जोखिममा परेका परिवार आफन्तको शरणमा बसेका छन् ।

जाजरकोट–डोल्पा सडकमा पर्ने उक्त स्थानमा खोलिएका ६ वटा कटेजसमेत भेरीले बगाएको उनले बताए । ती कटेज (नास्ता पसल) सञ्चालकको नाम, ठेगाना खुल्न सकेको छैन । तल्लुबगरमा नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निर्माणको एक कार्यदलसहित एक सय ५० घर बसोवास गर्छन् । नदी थुनिएपछि सोमबार राति बाढीको त्रासले स्थानीय रातभर जाग्राम बसेको वडाध्यक्ष खत्रीले बताए ।

नदीले जाजरकोट–डोल्पा सडकको केही भागसमेत बगाएको छ । कटानले जाजरकोटको तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने झोलुंगे पुलसमेत जोखिममा परेको छ । पुल छेउको सात मिटरजति जमिन कटान गरिसकेको छ । नदी बढ्दै गए अब १० मिटर मात्र टाढा रहेको पुलसमेत बगाउने खतरा रहेको स्थानीय विमला शाहीले जानकारी दिइन् ।

बाढीको जोखिमका कारण पठनपाठनसमेत प्रभावित भएको छ । त्यही पुल तरेर रुकुमबाट तल्लुबगरमा रहेका हिमालय मावि, भगवती बोर्डिङ र हिमालय प्राविमा अध्ययनका लागि आउने गर्छन् । पाल्लोपट्टि रुकुमको गोतामकोटमा धेरैजसो जाजरकोटवासीको बसोवास छ । घटनास्थल सदरमुकामबाट २३ कोस पूर्वमा पर्छ । प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले नदीले कटान गरेको क्षतिको विस्तृत विवरण आइनपुगेको बताए । ‘विस्तृत विवरण आइपुगेको छैन, जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेका छौं’, उनले भने ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...