Monday 20th May 2024

विश्वकपमा भित्रिएको नया प्रविधि


तितोपाटी – विश्वकप फुटबल चलिरहेको छ । विश्वकप फुटबललाई विवादरहित बनाउन यस पटक धेरै नयाँ प्रविधिको प्रयोग भएको छ । मैदानमा भएका खेलाडीदेखि स्टेडियम, रेफ्री तथा प्रशिक्षकहरूका लागि समेत विभिन्न प्रविधि उपलब्ध गराइएको छ ।
भीएआर

भीएआर अर्थात् भिडियो असिष्टेन्ट रेफ्रीले मैदानमा रहेका रेफ्रीलाई अप्ठ्यारो अवस्थामा सहयोग गर्छन् । पेनाल्टी, गोल, रेड कार्ड आदिको समयमा विवाद भए भीआरले वास्तविकता दर्साउँछ । यसमा एक जना मुख्य भीएआर रेफ्री हुन्छन् भने तीन जना असिस्टेन्ट भिडियो अपरेसन रुममा हुन्छन् । भीएआरले फाइबरमा आधारित रेडियो सिस्टमको सहयोगले मैदानमा भएका रेफ्रीसँग कुरा गर्छन् र कुनै विवाद भए समस्या निरुपण गर्छन् । भीएआरका लागि ३३ वटा ब्रोडकास्ट क्यामेरा प्रयोग गरिन्छ । त्यसैगरी अफसाइडमा दुई छुट्टाछुट्टै क्यामेरा हुन्छन् । भीएआरले ती सबै क्यामेराले देखाउने दृश्य अध्ययन गरिरहेको हुन्छ र रेफ्रीलाई आवश्यक समयमा मद्दत गर्छ ।

टेलस्टार बल

विश्वकप फुटबलका लागि टेलस्टार–१८ नामक बल प्रयोग गरिएको छ । यसमा नयाँ किसिमको कारकास र प्यानल छ । त्यसैले यो बलले विगतका विश्वकपमा प्रयोग भएका बलले भन्दा बढी पर्फमेन्स दिने बताइएको छ । यसमा नियर फिल्ड कम्युनिकेसन अर्थात् एनएफसी चिप जडान गरिएको छ । यसले एप्पल पे तथा एन्ड्रोइड पेको जस्तै प्रविधिमा काम गर्छ । यसका कारण नै स्मार्टफोनसँग उक्त फुटबलको सम्पर्क भैरहेको हुन्छ । एनएफसी चिप विश्वकपमै पहिलो पटक बलमा जडान गरिएको हो ।

फोरके यूएचडी भिडियो

विश्वकपको भिडियो ब्रोडकाष्टका लागि यस पटक फोरके अल्ट्रा हाईडिफिनेसन ब्रोडकास्ट प्रविधि प्रयोग गरिएको छ । यसको ट्रायल भने ब्राजिल विश्वकपमै गरिएको थियो । यसका कारण बीबीसी स्पोर्ट्स भीआर एपको प्रयोग गरेर फुटबल खेल हेर्दा स्टेडियममै बसेर खेल हेरेजस्तो अनुभव गर्न सकिन्छ ।

फाइभ जी

अहिले विश्वभरका मोबाइल फोनमा फोरजी प्रविधि प्रयोग भैरहेको छ । फाइभ जी प्रविधि परीक्षण त भएको छ, तर अझै व्यवहारमा आएको छैन । फाइभ जी सन् २०१९ देखि मात्र व्यवसायिक प्रयोगमा आउनेछ, तर यही विश्वकपमा यो प्रविधि परीक्षणका रूपमा प्रयोग भैरहेको छ । रूसका ११ वटा सहरका ४० साइटमा फाइभ जी क्षमताको रेडियो नेटवर्क जडान गरिएको छ । नेटवर्कका साथै स्टेडियमको फ्यान जोन एवं ट्रान्सपोर्टेसन हबमा समेत फाइभ जीको प्रयोग भैरहेको छ ।

इलेक्ट्रोनिक पर्फमेन्स एन्ड

ट्रयाकिङ सिष्टम (ईपीटीएस)

यस पटकको विश्वकपमा प्रयोग भएको ईपीटीएस नौलो प्रविधि हो । यसलाई विश्वकपकै इतिहासमा सबैभन्दा ठूलो उपलब्धि मानिएको छ । यो ट्याब्लेटमा आधारित सिस्टम हो, जसले ३२ टिमका सबै प्रशिक्षकलाई रियल टाइममा खेलाडीको तथ्यांक तथा भिडियो फुटेज देखाउँछ । यसका लागि प्रत्येक टिमलाई तीनवटा ट्याब्लेट दिइएको छ । खेलका फुटेज यी ट्याब्लेटमा ३० सेकेन्डमै उपलब्ध हुन्छन् । यही जानकारीका साथ खेलाडी कुन पोजिसनमा छ, उसको स्पिड कति छ, पास कसरी दिएको छ आदि जानकारी समेत प्राप्त हुन्छ ।

६ करोड भिजिटर्स

विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेको फिफाको आधिकारिक वेबसाइट फिफा डटकम संसारभर सर्बाधिक हेरिने स्पोर्ट्स वेबसाइट हो । हाल चलिरहेको विश्वकपको समयमा यो वेबसाइट ६ करोड मानिसले भिजिट गर्छन् । यो वेबसाइट विश्वकप फुटबलको सबैभन्दा लोकप्रिय प्लेटफर्म हो । अन्य कुनै पनि फुटबल वेबसाइटको तुलनामा यो वेबसाइट बिश्वका १ सयभन्दा बढी देशमा हेरिन्छ । प्रत्येक दिन विश्वका २० करोड मानिसले फिफा डटकम भिजिट गर्छन् । फिफाका ३२ जना रिपोर्टरको ट्विटलाई नै विश्वका २ लाख भन्दा बढी मानिसले फलो गर्छन् । त्यसैगरी १ करोड मानिसले फिफा फ्यान जोन, फिफा फ्यान्टासीलाई फलो गर्छन् । यही खेलकै क्रममा हाल सम्म ४० लाख फ्यान फेसबुक, इन्स्टाग्राका तथा ट्विटरमा जोडिइसकेका छन् । अघिल्लो विश्वकपको तुलनामा अहिलेको विश्वकप इन्स्टाग्राममा फलोअर ५० प्रतिशतले वृद्धि भएका छन् ।

डेटिङ एपको बढ्दो प्रयोग

विश्वकपको समयमा रुसमा डेटिङ एपको प्रयोगसमेत बढ्दो छ । फिफा विश्वकप–२०१८ प्रारम्भ भए पश्चात डेटिङ एपको माग तीन गुणाले बढेको छ । डेटिङ एप सुविधा उपलब्ध गराउने रुसको एक मोबाइल अपरेटर कम्पनीले जनाएअनुसार रुसमा आएका विदेशीमध्ये यस प्रकारको एप डाउनलोड गर्नेहरूमा ७० प्रतिशत पुरुष छन् । त्यसमा पनि विशेष गरी अर्जेन्टिना, इजरायल तथा मेक्सिकोका पुरुषले बढी मात्रामा उक्त एप प्रयोग गरेका छन् । यही सन्दर्भमा एक अर्जेन्टिनी युवकले आफूले खेलको समयमा यसको प्रयोग नगरे पनि अन्य समयमा यही एप प्रयोग गरी युवतीहरू खोजी गर्ने तथा उनीहरूलाई पार्टी एवं डिनरका लागि बोलाउने कुरा बताएका छन् ।

-कान्तिपुरको साप्ताहिकबाट


सम्बन्धित शीर्षकहरु

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ ।…

इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत…

प्रतिकृयाहरू
...