Wednesday 8th July 2026

इङ्गल्याण्डले पनामा विरूद्ध ६-१ को जीत दर्ज गर्यो


तितोपाटी – इंग्ल्यान्डको युवा र आक्रामक टोलीले ह्यारी केनको ह्याट्रिकसहित आइतबार पानामामाथि ६–१ को जित हात पार्दै विश्वकपको अन्तिम १६ मा पुगेको छ । इंग्ल्यान्डले विश्वकपमा सबैभन्दा ठूलो विजय हात पार्दा दुई पेनाल्टी गोलको सहयोग लियो, दुवै पेनाल्टीलाई केनले सदुपयोग गरेका थिए ।

अर्को गोल केनको कुर्कुच्चामा डिफ्लेक्सन भएर आएको थियो । यो सँगै केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिसकेका छन् । टयुनिसियाविरुद्ध पनि दुई गोल गरेका केनले बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछाडि पारिसकेका छन् । लुकाकु र रोनाल्डोसँग समान ४ गोल रहेको छ ।

समूह ‘जी’ बाट इंग्ल्यान्ड र बेल्जियम नकआउट चरणमा पुगेका छन् । दुवैले पहिलो दुई खेल जित्दा समान गोलभिन्नता रहेको छ । यी दुई टोली अर्को साता समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छन् । पहिलोपल्ट विश्वकप खेलिरहेको मध्यअमेरिकी टोली पानामाले २ खेलमा ९ गोल खर्चिसकेको छ । टोली टयुनिसियासँगै समूह चरणबाटै बाहिरिसकेको छ । विश्वकपमा पानामाको तर्फबाट पहिलो गोलका रूपमा ७८ औं मिनेटमा बैकल्पिक खेलाडी फिलिप बालोयले गरेको गोल रह्यो ।

हालैका अन्तर्राष्ट्रिय प्रतियोगितामा इंग्ल्यान्ड अन्तिममा आएर कमजोर देखिने गरेको थियो । तर पानामासँगको खेलमा टोलीले मध्यान्तरमै ५–० को अग्रता बनायो । रक्षक जोन स्टोन्सले आठौं मिनेटमै कर्नरमा आएको बलमा हेड गरी इंग्ल्यान्डको खाता खोले । २२ औं मिनेटमा जेसी लिङ्गार्डलाई फिडेल इस्कोबारले लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गरे ।

लिङ्गार्डले ३६ औं मिनेटमा पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरी ३–० को अग्रता बनाएको ४ मिनेटपछि स्टोन्सले चलाखीपूर्ण फ्रिकिकमा आएको बलमा चौथो गाल गरे ।

मध्यान्तरको ठीकअगाडि केनले पेनाल्टीमा पाँचौं गोल थपे । रुबेन लाफ्टस चेकको प्रहार केनको खुट्टामा लागेर डिफ्लेक्ट भएपछि टोटेनहमका स्ट्राइकरको ह्याट्रिक पूरा भएको थियो ।

व्यक्तिगत तीन गोल गरेलगत्तै केनको स्थानमा जेमी भार्डीलाई परिवर्तन गरिएको थियो । इंग्ल्यान्डका कप्तान केनले विश्वकपमा पोस्टमा प्रहार गरेको पाँच आक्रामण नै गोल भएको छ । जेफ हस्र्टले १९६६ को विश्वकप फाइनल र ग्यारी लिनेकरले १९८६ मा पोल्यान्डविरुद्ध ह्याट्रिक गरेयता केन विश्वकपमा इंग्ल्यान्डका ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित नेपाली दूतावासको एक सामान्य दिनमा पनि धेरै कथाहरू चलिरहेका हुन्छन्। गत साता त्यस्तै एउटा क्षणमा एक कर्मचारी सँग भइरहेको…

प्रशान्त महासागरको सुन्दर टापु राष्ट्र फिजी मा आज करिब १० हजार नेपाली मूलका मानिसहरू बसोबास गरिरहेको अनुमान गरिन्छ। उनीहरूको सबैभन्दा…

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

प्रतिकृयाहरू
...