Monday 7th September 2026

अर्जेन्टिनाद्वारा इजरायलसँगको खेल रद्द


तितोपाटी – विश्वकपको तयारी गर्न इजरेलसँग खेल्न तय भएको मैत्रीपू्र्ण खेल गाजामा प्यालेस्टिनीहरूप्रति इजरेलले गरेको व्यवहारका कारण उत्पन्न दबाबका माझ आर्जेन्टिनाले रद्द गरेको छ।

आर्जेन्टिनाका स्ट्राइकर गोन्सालो इग्वाइनले मङ्गलवार ईएसपीएन स्पोर्ट्स च्यानलसँग कुरा गर्दै भने, “आखिरमा सही निर्णय भएको छ।”

सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिवार खेलिने भनेको उक्त म्याच रद्द नगर्न अनुरोध गर्दै आर्जेन्टिनाका राष्ट्रपति मौरिसियो माक्रीलाई फोन गरेका थिए।

सो खेल रद्द भएको समाचार सुनेर गाजामा ताली बजाइएको छ। त्यहाँ भएका पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा कम्तीमा १२० जना प्यालेस्टिनीहरूलाई इजरेली फौजले मारिदिएका छन्।
‘मेस्सीलाई धन्यवाद’
वेस्ट ब्याङ्कस्थित रमल्लाहमा प्यालेस्टिनी फुटबल सङ्घले एक विज्ञप्ति प्रकाशित गर्दै आर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सी तथा अन्य खेलाडीलाई धन्यवाद दिएको छ।

“नैतिक तथा खेलको मूल्यले आज जितेको छ। खेल रद्द गरेर इजरेललाई रातो कार्ड देखाइएको छ,” सङ्घका प्रमुखलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले जनाएको छ।

खेल रद्द हुनुअघि उनले प्यालेस्टिनीहरूलाई मेस्सीका तस्बिर र जर्सी जलाउन आग्रह गरेका थिए।

रुसमा केही समयपछि सुरु हुन लागेको विश्वकप प्रतियोगिताअघि यो आर्जेन्टिनाको अन्तिम खेल हुँदै थियो। सो खेल वेस्ट जेरुसलेममा खेलाइँदै थियो।
जेरुसलेमको हैसियत निकै संवेदनशील छ। इजरेलले जेरुसलेमलाई उसको अविभाज्य राजधानी मान्छ।

प्यालेस्टिनीहरूले चाहिँ सहरको पूर्वी भागलाई भविष्यको आफ्नो प्यालेस्टिनी राज्यको राजधानी मान्छन्।

हाइफा सहरबाट जेरुसलेममा खेल सारिएपछि प्यालेस्टिनीहरू क्रुद्ध भएका थिए।

-बिबिसीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...